घण्टाघर/ सनराइज बैंक लिमिटेडको धरान शाखाले स्वास्थ्य तथा दुर्घटना बीमाबारे जानकारी दिएको छ ।

धरान–६ पानबारीस्थित आयोजित कार्यक्रममा बैंकका अन्य स्किमहरुबारे समेत जानकारी गराएको हो । बैंकका बचतकर्ताहरुले चार लाख रुपैयाँ खातामा राखेको खण्डमा १ लाख रुपैयाँसम्म उपचार खर्च पाउने भएका छन् । ग्राहकहरुले खाता खोलेको पहिलो दिनबाटै स्वास्थ्य उपचार बीमा सुविधाको उपयोग गर्न पाउने व्यवस्था रहेको बताइएको छ ।

ग्राहकको स्वास्थ्य बीमाका लागि बैंकले शिखर इन्स्योरेन्स कम्पनीसँग सम्झौता गरेको छ । स्वास्थ्य बीमा रकम दावी गरेको ७ दिनभित्र पाउने व्यवस्था समेत गरिएको छ । धरान शाखाका शाखा प्रबन्धक सूर्य बलम्पाकी, केन्द्रीय कार्यालयको कर्मचारी संज्ञा श्रेष्ठले स्वास्थ्य तथा दुर्घटना बीमाबारे जानकारी दिएका थिए ।

यस्तै, कर्मचारी नितेश कोइरालाले इलेक्ट्रोनिक बैंकिङ सेवा तथा लघु व्यवसाय कर्जा तथा कृषि कर्जाका बारेमा जानकारी दिएका थिए । कार्यक्रममा धरान पानबारीका उद्योगी, व्यवसायी, शिक्षक, विद्यार्थी, विभिन्न संघसंस्थाका प्रतिनिधि, पत्रकार, ग्राहकलगायतको उपस्थिति थियो । बैंकले सामूहिक दुर्घटना बीमा सुविधासमेत प्रदान गर्दै आएको छ ।

यस सुविधा अन्तर्गत दुर्घटनामा परी कुनै बचतकर्ताको मृत्यु वा स्थायी तवरले असक्त भएमा पाँच लाख रुपैयाँ नबढ्ने गरी बचत खातामा रहेको मौज्दातको ४ गुणासम्म दावी गर्न सकिने व्यवस्था गरेको छ ।