काठमाडौं । पछिल्ला वर्षहरूमा नेपालमा पेट्रोलियम पदार्थको आयात ह्वात्तै बढेको छ । लोडसेडिङ हटेपछि पेट्रोलियम पदार्थको आयात घट्नुपर्नेमा झनै बढ्नुमा भारततर्फ हुने तेलको तस्करी मुख्य कारक रहेको नेपाल आयल निगमका अधिकारीहरुको विश्लेषण छ ।

पेट्रोलियम पदार्थ आयातको कारोबार गर्ने नेपाल आयल निगमलाई आयात अत्यधिक बढ्दा त्यसको व्यवस्थापन गर्न धौधौ परिरहेको छ । अहिले पेट्रोलियम आयात वार्षिक २० प्रतिशतका दरले बढेको छ । २/३ वर्ष पहिलेसम्म यस्तो वृद्धिदर करिब १०/१२ प्रतिशत मात्र थियो ।

निगमका कार्यवाहक कार्यकारी निर्देशक सुशील भट्टराई भन्छन्, ‘माग बढेको त छ, तर, यो स्वाभाविकचाहिँ देखिँदैन ।’

निगमका अधिकारीहरू आफैं पनि छक्क पर्छन्- कसरी बढेको छ आयात ?

पेट्रोलियम पदार्थको आश्चर्यजनक रुपमा आयात किन र के कारणले बढेको हो भन्ने सम्बन्धमा हालसम्म निगमले कुनै ठोस अध्ययन अनुसन्धान गरेको छैन । तर, आयात बढ्नुमा केवल माग बढ्नुमात्रै भने जिम्मेवार देखिँदैन ।

पछिल्लो समय भारततर्फ हुने तेलको तस्करीलाई आयात बढ्नुको एउटा प्रमुख कारणका रुपमा लिइएको छ ।