बलिउड अभिनेत्री कंगना रनौत मनमा लागेको कुनै पनि कुरा बेहिच्किचाहट बोलिदिन्छिन् । यस्तो स्वभावले गर्दा उनी बेलावखत विवादमा पनि पर्ने गरेकी छिन् ।

हालै उनले चलचित्रमा समावेश हुने गरेको आइटम गीतको विरोधमा मुख खोलेकी छिन् । यस्ता आइटम गीतहरुले समाजमा विकृति ल्याएकाले पूर्णरुपमा प्रतिवन्ध लगाइनुपर्ने उनको माग छ ।

एक अन्तरवार्तामा कंगनाले अहिलेसम्म आफूले आइटम नम्बर नगरेको र अब पनि नगर्ने बताइन् । कडा शब्दमा उनले भनिन्, ‘आइटम नम्बरमा त्यस्तो के हुन्छ र गर्न लायक ? खाली महिला कलाकारलाई नंग्याएर अश्लिलता फैलाएर दर्शक तान्ने मेलो मात्र हो यो ।’

अगाडि उनले थपिन्, ‘म यस्तो कुनै पनि कुराको हिस्सा बन्न सक्दिन जुन मेरो लागि, समाजको लागि, र बच्चाहरुको लागि हानिकारक हुन्छ । भोली यसमा मेरी वा तपाईंकी छोरीलाई यस्तो अफर आएमा के हामी स्वीकार गर्न सक्छौं त ? के हामीले आफ्ना बच्चाहरुप्रति जिम्मेवार हुनु पर्दैन ?’

कंगनाले आफूलाई जे मन पर्छ त्यो गर्ने र मन नपर्ने कुरा कदापी नगर्ने बताइन् । जस्तै उनले फेयरनेस क्रिमको एड गर्दिनन्, आइटम नम्बर गर्दिनन् र ठूलो हिरो भएको फिल्ममा अभिनय गर्दिनन् । यसो गर्दा आफ्नो करिअरलाई घाटा पुग्छ भने पनि परवाह नरहेको उनी बताउने गर्छिन् ।

कंगना हाल ‘मणिकणिर्का’ फिल्मको सुटिङमा व्यस्त छिन् । यसका अलावा उनी ‘मेन्टल है क्या ?’ मा राजकुमार रावको अपोजिटमा देखिदैछिन् । सो फिल्मकी निर्माता एकता कपुर हुन् । यसअघि कंगना, राजकुमार र एकताले ‘क्वीन’मा सँगै काम गरेका थिए । उक्त सुपरहिट फिल्मले कंगनालाई ह्वात्तै माथि उठाइदिएको थियो ।