बलिउडको सफल फ्रेन्चाईजमा पर्ने फिल्म हो आशिकी । सन् १९९० मा ‘आशिकी’ , सन् २०१३ मा ‘आशिकी २’ को सफलतापछि निर्माण युनिटले ‘आशिकी ३’ को घोषणा गरिसकेको छ । भट्ट क्याम्पमा निर्माण हुने यो फिल्म पछिल्लो समय स्टारकास्टको कारण पनि चर्चामा रहेको थियो ।

सुरुवातमा ‘आशिकी ३’ का लागि आलिया भट्ट र सिद्धार्थ मलहोत्राको नाम चर्चामा रहेको थियो । तर पछिल्लो केही दिन यता ‘आशिकी ३’ मा सिद्धार्थ नभई बरुण धवन अनुबन्धित भएको भारतीय मिडियाहरुले दाबी गरेका छन् । प्रेम सम्बन्धको रुपमा आलिया र सिद्धार्थको नाम जोडिने भएपनि पर्दामा भने आलियाको जोडी बरुणसंग निकै रुचाईएको छ ।

यो जोडीलाई पर्दामा हेर्न चाहाने र यो जोडीको फ्यान फलोईङ पनि धेरै छ । त्यसैले पनि निर्माण युनिटले ‘आशिकी ३’ मा आलिया र बरुणलाई अनुबन्धित गरिएको बताईएको छ । यदि ‘आशिकी ३’ मा आलिया अनुबन्धित भएकी हुन् भने आफनो होम प्रडक्सनमा उनको यो पहिलो फिल्म हुनेछ ।

फिल्मलाई मोहित सुरीले नै निर्देशन गर्नेछन् । स्मरण रहोस कम बजेटमा निर्माण भई सिद्धार्थ रोय कपुर र श्रृद्धा कपुरको अभिनय रहेको ‘आशिकी २’ ले भने बक्सअफिसमा ११० करोड कलेक्सन गर्न सफल भएको थियो ।