पानवारी/ धरानको खानेपानी ट्याङ्की निर्माण गर्ने सन्दर्भमा भएको विवाद समाधानको लागी एक समिति बनाएर विवाद समाधान गर्ने निर्णय भएको छ ।

शुक्रबार धरान उपमहानगरपालिकामा भएको धरान उपमहानगरपालिका र विजयपुर दरबार क्षेत्र परीसर संरक्षण संघर्ष समितिको संयुक्त बैठकले उक्त निर्णय गरेको हो । विवाद समाधानको लागी ‘विजयपुर सव सिस्टम विवाद समाधान समिति’ गठन गर्ने र समितिमा धरान उपमहानगरपालिकाको तर्फबाट ५ जना र संघर्ष समितिको तर्फबाट ५ जना सदस्य रहने गरी आज (शनिबार) भित्र १० सदस्यीय विवाद समाधान समिति गठन गर्ने निर्णय भएको हो ।

बैठकले १० दिन भित्र प्रतिवेदन बुझाउने गरी समय सिमा समेत तोकेको छ । विवाद समाधान समिति गठन गर्ने निर्णय गरेसँगै संघर्ष समितिले सम्पूर्ण आन्दोलनका कार्यक्रम फिर्ता लिने र खानेपानी आयोजनाले पनि तत्कालकालागि ट्याङ्की निर्माण कार्य रोक्ने सहमति भएको धरान उपमहानगरपालिकाका मेयरका प्रेस संयोजक योगेशबाबु काफ्लेले जानकारी दिएका छन् ।

खानेपानी ट्याङ्की निर्माण गर्न सबै विकल्प खोज्न दुवै पक्ष तयार समेत भएका छन् । विजयपुर दरबार क्षेत्र परिसर संरक्षण संघर्ष समितिका संयोजक थाङसाङ लावतीले भने ‘सबै विकल्प खोज्ने गरी विवाद समाधान समिति गठन गर्ने निर्णय भएको छ ।’ शुक्रबार भएको संयुक्त बैठकमा धरान उपमहानगरपालिकाका मेयर तारा सुब्बा, उपमेयर मञ्जु भण्डारी, प्रमुख प्रशासकिय अधिकृत सुदेव पोखरेल, १५ नं. वडाध्यक्ष नरेश इवारम र खानेपानी आयोजना प्रमुख राजु पोख्रेल त्यस्तै गरी संघर्ष समितिका संयोजक थाङसाङ लावती, सह–संयोजक देब सुब्बा, सचिव प्रदीप नोयोङ, सदस्य अमर इजम लगायतको सहभागीता रहेको थियो ।