पाल्पा/ पाल्पामा ट्रिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। बिहीबार भएको दुर्घटनामा चार जना घाइते भएका छन।

मृत्यु हुनेमा रिब्दीकोट गाउँपालिका–२ देउरालीका १७ वर्षीय देवेन्द्र लम्तरी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक विनोद घिमिरेले बताए। घाइते हुनेमा एकै परिवारका तीनजना रहेका छन्। तिनाउ गाउँपालिका–३ का तारा गाहा, उनकी श्रीमती धनि गाहा, छोरा रोशन गाहा रहेका छन्।

यस्तै ट्रिपर चालक सेमरी गाउँपालिका–७ नवलपरासीका धनबहादुर गुरुङ पनि घाइते भएका छन। घिमिरेका अनुसार घाइते सबैको अवस्था गम्भीर रहेको र उनिहरूको अहिले लुम्विनी अञ्चल अस्पताल बुटवलमा उपचार भइरहेको छ।

बुटवलबाट तानसेनतर्फ आउँदै गरेको लु १ ख ९००५ नम्बरको ट्रिपर बिहीबार दिउँसो करीब १ बजेतिर तिनाउ गाउँपालिका–३ झुम्सामा दुर्घटना भएको हो। ट्रिपर सडकभन्दा करिब ४० मिटर तल खसेको छ।

तीव्र गतिका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीले जानकारी दिएको छ।