नेपालगन्ज/ बर्दिया गुलरियाकी रेखा मलाह एक वर्षदेखि तनावमा छिन्। राम्रो कमाइ हुने आशामा ऋण लिएर २ वर्ष पहिले साउदी अरब गएका श्रीमान् त्रिवेणी मलाह उतै अलपत्र परेपछि रेखाको भोक निद्रा हराएको छ। आफ्ना श्रीमानलाई घर फर्काउने उपायको खोजीमा उनी आजकल आफन्त र संघ–संस्थाहरुमा दौडधुप गर्दै आएकी छिन्।
सानो काखे बच्चा बोकेर विभिन्न संघ–संस्थामा पुगेर रेखाले वैदेशिक रोजागारीमा रहँदा आफ्ना श्रीमानलाई परेको अप्ठेरो सुनाउँदै हिड्छिन्।
साउदीको मसुद सिड कम्पनीमा काम गरेर घर पठाउन तयार पारेको उनको करिब ५० हजार रुपैयाँसहित सबै सरकारी कागजपत्र चोरी भयो। एक वर्ष राम्रैसँग कमाइ गरेका त्रिवेणी पछिल्लो एक वर्षदेखि भने काम गर्नका लागि आवश्यक कागजपत्र नहुँदा लुकीछिपी उतै बस्दै आएका छन्।
‘कमाई गर्नु त कता हो कता खान बस्न समेत मुस्किल भई रहेको छ।’, फोनमार्फत आफ्ना श्रीमानले पोखेको पिडा रेखाले सुनाइन्,‘उनले फोन गरेर तत्काल उद्धारको व्यवस्था मिलाउन आग्रह गर्दै आएका छन्।’ एक वर्षदेखि उद्धारका लागि त्रिवेणीले आग्रह गरे पनि परिवारका सदस्यहरुले उनलाई घर फर्काउन सकेका छैनन्।
गरीब तथा विपन्न परिवारकी रेखालाई विदेशमा अलपत्र परेका आफ्ना श्रीमानलाई उद्धार गरेर नेपाल कसरी ल्याउने भन्ने जानकारी छैन। स्थानीय तह, प्रहरी र प्रशासनले पनि रेखालाई कुनै सहयोग गरेका छैनन्।
आफ्नो कार्य क्षेत्र नभएको भन्दै ती संस्थाहरुले सहयोग नगरेका कारण रेखा थप समस्यामा परेकी हुन्।
रेखाका श्रीमानलाई गाउँकै एजेन्टले ९५ हजार रुपैयाँ लिएर सउदी अबर पठाएका थिए। आफ्ना श्रीमानलाई विदेश पठाएर अलपत्र पार्ने गाउँकै एजेन्ट र एप्पल ओभरसिज कम्पनीका विरुद्ध उजुरी गर्नका लागि रेखालाई काठमाडाैं स्थित वैदेशिक रोजगार विभागमा पुग्नुपर्छ।
वैदेशिक रोजगार ऐन र नियमहरु कामदार मैत्री नहुँदा कामदारहरु पटक–पटक ठगिदैँ आए पनि त्यसतर्फ सरकारी निकायले ध्यान नदिँदा रेखाजस्तै लाखौँ पीडितहरुले अनेकौँ समस्या खेप्न बाध्य छन्।
सानो काखे बच्चा बोकेर सहयोगको याचना गर्दै नेपालगञ्जस्थित आफ्नो कार्यालयमा पुगेकी रेखालाई क्रियाशिल पिपुल्स फोरमले निशुल्क रुपमा कानुनी सहायता दिने भएको छ। त्रिवेणीको उद्धारका लागि हरसम्भव प्रयास गर्ने फोरमका सल्लाहकार अधिवक्ता सोम लुइँटेलले बताए।