म्याग्दी/ म्याग्दीको धौलागिरी गाउँपालिका–६ ताकमकी एक परीक्षार्थीले बच्चा जन्माएको एकघण्टामै माध्यमिक शिक्षा परीक्षा (एसइई)को परीक्षा दिन केन्द्रमा पुगेकी छन् । मंगलबार विहान अचानक सुत्केरी ब्यथा लागेपछि ताकम स्वास्थ्य चौकीमा पुगेकी २१ बर्षीया फुलमायाँ केसीले छोरी जन्माए लगत्तै परिवारको सहयोगमा स्ट्रेचरको प्रयोग गरी हेम माध्यमिक विद्यालय सिवाङ केन्द्रमा पुगेको श्रोतब्यक्ति गिरीप्रसाद छन्त्यालले बताए ।
परीक्षा सुरू हुन लागेको अवस्थामा बच्चा जन्मिएको खवर आएपछि परीक्षार्थीलाई छुट्टै कोठामा राखेर परीक्षा दिने ब्यवस्था मिलाएको छन्त्यालले बताउनुभयो । सुत्केरी भएलगत्तै फुलमायाँले विज्ञान विषयको परीक्षा दिने बताएपछि स्वास्थ्यकर्मीले समेत उनलाई स्ट्रेचरमा लैजान सुझाव दिएका थिए ।
केसीको छोरीको नाम समेत प्रवेशिका राखिएको छ । धौलागिरी गापा–३ मुना सोलवाङ स्थायी घर भएकी केसीले ताकम माविबाट परीक्षा सहभागी भएको परीक्षा केन्द्रले जनाएको छ । केन्द्रमा २२३ जना परीक्षार्थी परिक्षामा सहभागी छन् । केन्द्रमा छिमेकी मालिका गाउँपालिकाको देवीस्थानको भिम मावि र गौगमबस्त्र माविका विद्यार्थी समेत सहभागी छन् ।































