चीनले हालै विश्वको सबैभन्दा भव्य, ठूलो तथा अत्याधुनिक अन्तर्राष्ट्रिय विमानस्थल बनायो, राजधानी बेइजिङमा । चीनको कीर्तिमानीको यो रफ्तार यत्तिमा मात्र रोकिनेवाला छैन ।
अब छिटै अर्को आश्चर्यजनक तथा कीर्तिमानी भौतिक संरचनाले पुनः अन्तर्राष्ट्रिय सञ्चार माध्यममा चर्चा कमाउँदैछ ।
चीनको सांघाइमा एउटा यस्तो होटल बन्दैछ जसलाई डिप पिट होटेल अर्थात् गहिरो खाल्डोको होटेल भन्दा पनि हुन्छ ।
यो होटल निकै ठूलो हुनेछ । तर जमिनमाथि चाहिँ केवल २ वटा तला मात्र हुनेछन् ।
होटलका अन्य १७ तलाहरु जमिनमुनि हुनेछन् । त्यस्तै अन्य दुईवटा तला चाहिँ वास्तवमा पानीमुनि हुनेछन् ।
उक्त होटेल निर्माणस्थलका सार्वजनिक भएका तस्वीरहरु निकै भव्य तथा आश्चर्यजनक देखिन्छन् ।
१ सय मिटर गहिरो खाल्डोमा यो होटल बनिरहेको छ । सांघाइ सिटीनजिकैको सोङजियाङ जिल्लामा यो होटल रहेको छ ।
बेलायती डिजाइन तथा इन्जिनियरिङ कम्पनी एटकिन्सले यो होटलको डिजाइन गरेको हो । सन् २०१३ को नोभेम्बर देखि यो होटलको निर्माण सुरु भएको हो ।
यो होटलमा ३८३ वटा कोठा हुनेछन् । त्यस्तै हरियो छत हुनेछ भने २ तला पानी मुनि हुनेछ । छतदेखि ठूलो झरना भुइँमा रहेको पोखरीमा खसाइनेछ ।