विराटनगर/ सुनसरीको धरान र झापाको काकडभिट्टाबाट बुधबार लागुऔषधसहित ५ जना पक्राउ परेका छन् ।
धरान उपमहानगरपालीका ११ शिबजी चौकबाट लागुऔषध विक्रीमा संलग्न धरान-११ का बिक्रम भुजेल र लागुऔषध खरिदकर्ता सुरेश कुमार राईलाई पक्राउ गरिएको छ।
विशेष सुचनाका आधारमा इलाका प्रहरी कार्यालय धरानको टोलीले अपरान्ह ४;३० बजेतिर उनीहरुलाई लागुऔषध खरिद बिक्री गर्दै गर्दा पक्राउ गरेका हुन।
भुजेलके बोकेको झोलाबाट ३४४ पिस नाइट्रोसन ट्याब्लेट, १३२ पिस स्पास्मोप्रोक्सिवन क्याप्सुल र ५४ एम्पुल टिडिजेसिक (डाइजेल्याप,लुपिजेसिक, एभिल) ईन्जेक्सन बरामद भएको छ। दुबैलाई इलाका प्रहरी कार्यालयमा राखिएको छ।
यसैगरी झापाको मेचीनगर नगरपालिका ६ बाट लागुऔषध नियन्त्रण व्युरो काकडभिट्टा र इलाका प्रहरी कार्यालय काकडभिट्टाको टोलीले लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको छ।
भारत पानीटंकी बजारबाट नेपाल आउँदै गरेका मोरङ विराटनगर बस्ने किशोर सहनीलाई ७ पिस नाइट्रोसन ट्याब्लेट तथा झापा विर्तामोड नगरपालिका ८ बस्ने विन्नी राय क्षेत्री र प्रतिक प्रसाईलाई १ ग्राम २०० मिलिग्राम ब्राउनसुगरसहित साँझ ५ बजे पक्राउ गरिएको हो।
तीनै जनालाई अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय काकडभिट्टामा राखिएको छ।