काठमाडौं/ रुसको सैनिक विमान सिरियामा दुर्घटना हुँदा ३९ जनाको मृत्यु भएको छ । विमानमा चालक दलका ६ सदस्यसहित ३९ जनाको मृत्यु भएको हो ।
पश्चिमी सिरियास्थित रुसी पक्षले प्रयोग गर्दै आएको तटीय शहर लाताकिया नजिकै हेमिमिममा हवाई मैदानमा अवतरण गर्ने क्रममा विमान दुर्घटना भएको हो ।
विमान धावनमार्गभन्दा ५ सय मिटर अगाडि जमिनमा धसिएको बताइएको छ । प्राविधिक त्रुटीका कारण विमान दुर्घटना भएको हुनसक्ने बताइएको छ ।
रुसी रक्षा मन्त्रालयले विमान दुर्घटनाको छानबिन गर्न समिति गठन गर्ने जनाएको छ । यसैबीच रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले दुर्घटनामा मृत्यु हुने सैनिकप्रति समवेदना प्रकट गरेका छन् ।
सिरियामा गत फेब्रअरी ३ मा पनि बिमान दुर्घटना भएको थियो ।