काठमाडौं/ कागजात कीर्ते गरेको आरोपमा पक्राउ पूर्जी जारी गरिएपनि फरार रहेका भनिएका पूर्वडीआईजी तथा नेकपा एमालेका सांसद् नवराज सिलवाल संघीय संसद् भवन नयाँबानेश्व पुगेका छन् ।

एमाले र माओवादी केन्द्रद्वारा संयुक्त रुपमा शनिबार आफ्ना संघीय सांसद्का लागि आयोजित प्रशिक्षण कार्यक्रममा सिलवाल सहभागी भएका छन् ।संसद् भवन नयाँ वानेश्वर आयोजित सो कार्यक्रममा सहभागी हुन सिलवाल करिब पौने ११ बजे संसदमा पुगेका थिए ।

यसअघि केपी शर्मा ओली प्रधानमन्त्री भएपछि सिलवाल बालुवाटारमा देखा परेका थिए । अदालतबाट पक्राउ गर्न दिएको आदेशअनुसार प्रहरीले पक्राउ पूर्जी जारी गर्दा सिलवाललाई पक्राउ नगरेको भन्दै प्रहरी र प्रधानमन्त्री ओलीको आलोचना भएको थियो ।

पूर्वप्रहरी अधिकृत सिलवालले कानुनलाई बेवास्ता गर्दै अदालतको आदेशलाई अवज्ञा गरेको आरोप लागेको थियो । शेरबहादुर देउवा प्रधानमन्त्री हुँदासम्म देखा नपरेका भनिएका सिलवाल ओली प्रधानमन्त्री भएसँगै सार्वजनिक कार्यक्रममा देखा पर्न थालेका छन् ।