काठमाडौं/ दक्षिण कोरीयामा रोजगारीका लागि जान नेपालमा सन् २००८ देखि गरिँदै आएको कोरीयन भाषाको नवौं चरणको परीक्षा आगामी जेठमा हुने भएको छ । परीक्षा जेठ अन्तिम सातामा हुने प्रारम्भिक जानकारी भए पनि मिति भने सार्वजनिक गरिएको छैन ।

त्यस्तै आगामी चैतको दोश्रो साता भाषा परीक्षाका लागि आवेदन फारम संकलन गरिने ईपीएस कार्यालय नेपालले जनाएको छ । जेठ अन्त्यमा स नतिजा असारको मध्यसम्ममा आइसक्ने इपिएस कार्यालयले जनाएको छ । “परीक्षा फारम चैतमा, परिक्षा जेठमा र नतिजा असारमा गरिने भएको छ । एचआरडी कोरीयाले पठाएको यो तालिकामा एक चरण हामीले छलफल गरेपछि वास्तविक मिति सार्वजनिक गर्नेर्छौं,” इपिएस शाखाका अधिकृत शोभाकर भण्डारीले भने । परीक्षा फारम भर्न लाइन लाग्नुपर्ने बाध्यता गत वर्षदेखि नै हटिसकेको छ ।

आगामी वर्ष ७ हजारको कोटा  कोरीयामा नेपाली कामदारलाई रुचाइएका कारण वर्षैपिच्छे नेपालबाट कारदारहरु लैजाने क्रम बढ्दै गएको छ । आगामी वर्ष सन् २०१९ का लागि कोरीयाको मानव संसाधन विकास संस्था एचआरडीले नेपाली कामदारको वास्तविक माग संख्या तोक्न बाँकी नै छ तर प्रारम्भिक अनुमानित संख्या ७ हजारको रहेको इपिएस शाखाले जनाएको छ ।

त्यसमध्ये उद्योगतर्फ ५ हजार र कृषितर्फ २ हजार अनुमानित माग रहेको छ । गत वर्ष १० हजार माग रहेकोमा १२ हजार परिक्षार्थीलाई उत्तिर्ण गराइएको थियो । इपिएस शाखाका अधिकृत शोभाकर भण्डारीले भने, “कोरीयामा नेपाली कामदारलाई प्राथमिकता दिएका कारण कोरीयामा नेपाली कामदारको संख्या अरु देशको तुलनामा बढ्दै गइरहेको छ ।” अहिले दक्षिण कोरीयामा नेपाली कामदारको संख्या ५० हजार नाघिसकेको छ ।

कसरी निर्धारण गरिन्छ कोटा ? दक्षिण कोरीयाले इपिएस प्रणलीमार्फत नेपालजस्तै माल्दिभ्स, बंगलादेश, पाकिस्तान, अफगानीस्तान, फिलीपिन्स, म्यान्मार, चीन, भियतनाम, श्रीलंकालगायतका १६ देशबाट कामदार लैजाने गरेको छ । यसरी कामदार छनोट गर्दा मुख्यतया सम्बन्धित देशका कामदारहरुको लगनशिलता, इमान्दारी तथा वैधानिक बसाईलाई आधार मानिने इपिएस नेपालले जनाएको छ । “हाम्रो देशका कामदारको रेकर्ड राम्रो रहेकोले पछिल्ला वर्षमा कोरीयाको प्राथमिकतामा पर्दै आएका छन् । यो माग संख्या त्यसै कारणले तलमाथि या घटबढ भइरहन्छ,” अधिकृत भण्डारीले भने ।

आठौंका २५ सयको सम्झौतापत्र आयो  गतवर्ष उतिर्ण भएका १२ हजार १ सय ८ मध्ये कृषितर्फ ९ सय ४२ र उद्योगतर्फ १ हजार ६ सय ४३ गरी २ हजार ५ सय ८५ जनाको सम्झौतापत्र आइसकेको र बाँकीको आउने क्रम जारी रहेको पनि ईपीएस कार्यालयले जानकारी गराएको छ ।