शनिश्चरे । मोरङको पथरीशनिश्चरे ७ मा थालिएको एक धार्मिक अनुष्ठानका वक्ताहरुले धर्मले सामाजिक सद्भावको सन्देश दिनुपर्ने आजको आवश्यकता भएकोमा जोड दिएका छन् ।

त्यहाँ रहेको शिवपाञ्चायन मन्दिर व्यवस्थापनका लागि अक्षयकोष स्थापनाका लागि थालिएको सप्ताह ज्ञान महायज्ञको सोमबार उद्घाटनपछि बोल्दै मोरङ निर्वाचन क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य भानुभक्त ढकालले धर्मले सामाजिक सद्भाव सिर्जना गर्ने काम गर्नुपर्नेमा जोड दिएका छन् । उनले समाजमा जातीय, धार्मिक, सांस्कृतिक टकराव भई सद्भाव भाँड्ने प्रयत्न भइरहेको प्रसंग अघि सार्दै धर्मको मुल मर्म राख्ने अनुष्ठानहरुले सामाजिक सद्भाव र शान्तिको वातावरण बनाउनु पर्ने उल्लेख गरे ।

कार्यक्रममा बोल्दै पूर्व सांसद चण्डीप्रसाद राई, पथरीशनिश्चरे नगरपालिका प्रमुख दिलिपकुमार राई, नेपाल ज्योतिष परिषदका केन्द्रीय सदस्य प्रकाश रिसाल, ७ नम्वर वडाध्यक्ष कपिलमणि ढकाल, १ नम्वर वडा सदस्य गंगाप्रसाद सिटौला लगायतले सामाजिक सद्भावका लागि महायज्ञहरु परिणत हुनुपर्नेमा जोड दिएका छन् । कार्यक्रममा प्रमुख कथावाचक पण्डित सुश्री राधिका दासीले समेत मन्तव्य राख्दै धर्मान्धदा भन्दा पनि समाजमा भाइचाराको सन्देश छर्दै शान्तिपूर्ण संसार स्थापना गर्नु धर्मको मुल उद्धेश्य रहेको उल्लेख गरिन् ।