लिमा/ पेरुको सामुद्रिक क्षेत्रमा आइतबार गएको भूकम्पमा परी दुईजनाको मृत्यु भएको पेरुका अधिकारीले जनाएका छन् । भूकम्पका कारण खानी भत्किँदा केही कामदार खानीभित्र पुरिएको आशङ्का गरिएको छ । खानीमा काम गर्ने दुई जनाको मृत्यु भएको छ भने १७ जना भूकम्पपछि सम्पर्कमा नआएको पेरुका स्वास्थ्यमन्त्रीले बताएका छन् । आइतबार पेरुमा ७.२ म्याग्निच्युडकोे भुकम्प गएको अमेरिकी भूगर्भ विभाग (यूएसजिएस)ले जनाएको थियो । भूकम्पपछि पेरुका केही भाग तथा छिमेकी राष्ट्र चिलीमा सुनामी आउनसक्ने भनी चेतावनी दिइएको भएपनि केही समयपछि उक्त चेतावनीलाई खारेज गरिएको छ । भूकम्पको केन्द्रविन्दु पेरुको अकारीबाट ४२ किलोमिटर दक्षिणपश्चिममा समुद्रको १२.१ किलोमिटर गहिराइमा रहेको थियो ।