काठमाडौं । सर्वोच्च अदालतको अवहेलना मुद्दामा पक्राउ परेका चिकित्सक डा. गोविन्द केसीलाई रिहा गरिएको छ। केसीलाई सामान्य तारेखमा रिहाइ गरिएको हो। सोमबार राती त्रिवि शिक्षण अस्पतालमा अनसनमा बसेका बेला पक्राउ गरिएका डा. केसीलाई मंगलबार सर्वोच्च अदालतमा उपस्थित गराइएको थियो। डा. केसीले प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीलाई बर्खास्त गर्नुपर्ने माग राख्दै अनसन सुरु गरेका थिए। उनले उक्त अवसरमा अदालतलाई अवहेलना हुने अभिव्यक्ति दिएको भन्दै सर्वोच्चका कर्मचारी नेत्रबन्धु पौडेलले मुद्दा दर्ता गराएका थिए। उनलाई पक्राउ गरी मंगलबार बिहान ९ बजे अदालतमा बयानका लागि उपस्थित गराउन गृहमन्त्रालय र प्रहरी प्रधान कार्यालयलाई अदालतले निर्देशन दिएको थियो। बुधबार उक्त मुद्दामा न्यायाधीशद्वय पुरुषोत्तम भण्डारी र बमकुमार श्रेष्ठको इजलासले डा. केसीलाई उनको पक्षमा बहस गरेका वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीको जिम्मामा छोड्न आदेश दिएको छ। साथै डा. केसीले प्रधानन्यायाधीश गोपाल पराजुलीमाथि लगाएको आरोपबारे छानविन गर्न पनि अदालतले आदेश दिएको छ। आदेशमा भनिएको छ, ’सम्माननीय प्रधानन्यायाधीश गोपाल पराजुलीको नामको काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट लिएका दुवै नागरिकताको प्रतिलिपि झिकाउनुका साथै न्याय परिषद्बाट उमेरका सम्बन्धमा भएको निर्णय तथा शैक्षिक योग्यताको प्रमाणपत्रका प्रतिपिहरू समेत झिकाउनू।’ डा. केसीले उठाएको त्रिवि शिक्षण अस्पतालका कुलपतिबारेको फैसलासमेत झिकाउन आदेश दिइएको छ।

































