लहान/ विद्युत् प्राधिकरण वितरण केन्द्र लहानले लामो समयदेखि विद्युत् महसुल नबुझाउने ४० जना सेवाग्राहीको विद्युत् लाइन काटेको छ ।

[caption id="attachment_67822" align="aligncenter" width="920"] फायलफाेटाे[/caption]

बक्यौता विद्युत् महसुल नबुझाउने ग्राहकको विद्युत् लाइन अभियान शुरु गरेको विद्युत् प्राधिकरण वितरण केन्द्र लहानले एक साताको अवधिमा ४० जना ग्राहकको लाइन काटेको हो ।

विद्युत् प्राधिकरण वितरण केन्द्र लहानले रु ५० हजारभन्दा बढी बक्यौता बाँकी रहेका २२० जना ग्राहकको विद्युत् लाइन काट्न शुरु गरेका हुन् ।

विद्युत्को बाँकी बक्यौता रकम समयमा नबुझाउने र पटकपटक समयमै विद्युत् महसुल बुझाउन आग्रह गर्दासमेत बेवास्ता गर्ने ग्राहकको विद्युत् लाइन काट्न थालेको विद्युत् प्राधिकरण वितरण केन्द्र लहानका प्रमुख विष्णुदेव यादवले जानकारी दिए।

उनका अनुसार पहिलो चरणमा लामो समयदेखि बक्यौता रकम नबुझाउने ३ फेजका २२० जना ग्राहकको विद्युत् लाइन काटिने छ ।

ग्राहकबाट विद्युत् महसुलबापत करिब रु तीन करोडभन्दा बढी बक्यौता उठाउन बाँकी रहेको विद्युत् प्राधिकरण वितरण केन्द्र लहानले जनाएको छ । विद्युत् प्राधिकरण वितरण केन्द्र लहानमा ४५ हजार ग्राहक रहेका छन् ।