पाँचथर । नवौं रुस्लान फाल्गुनन्द गोल्डकप फुटवल प्रतियोगिताको उपाधि सुनसरी–११ ले उचालेको छ । आइतबार फिदिम माविको खेलमैदानमा सम्पन्न प्रतियोगिताको फाइनल खेलमा मोरङ–११ लाई २–० ले स्तब्ध पार्दै सुनसरीले उपाधिमाथि आफ्नो हक जमाएको हो ।
सुनसरीलाई उपाधि दिलाउँन खेलको ६६ औं मिनेटमा सौजन याक्खाको कर्नर किकमा तीर्थ बस्नेतले हेड मार्फत सुन्दर गोल गरे । त्यस्तै सौजनकै कर्नरलाई सदुपयोग गर्दै सुरज सुनुवारले अर्को गोल थपे । खेलमा मोरङको तुलनामा सुनसरी हाबि देखिएको थियो । सुनसरीले उपाधि सँगै नगद तीन लाख सहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ भने उप बिजेतामा सिमित हुन पुगेको मोरङले ट्रफि, मेडल र प्रमाण पत्र सहित नगद दुई लाखमा चित्त बुझाउँनु प¥यो । खेलको म्यान अफ् दि म्याच सुनसरीका सुरज सुनुवार बने । उनले नगद दश हजार प्राप्त गरे ।
सुनसरीकै हेमन्त थापा मगरले प्रतियोगिताको सर्बोकृष्ठ खेलाडि बन्दै नगद ३५ हजार पाए । प्रतियोगिताको हाइ स्कोरर बनेका तीर्थ बस्नेतले नगद १५ हजार पाए । प्रतियोगिता भरीमा उनले चार गोल गरेका थिए । त्यस्तै सुनसरीकै बिवश चौधरी बेष्ट कोलकिपर, निशान लिम्बू बेष्ट फरवाड, श्याम मानान्धर बेष्ट कोच, मोरङका सुरेन्द्र खवास बेष्ट डिफेन्डर, बुद्धिमान राई बेष्ट मिडफिल्डर र फिदिम स्पोर्टिङ क्लवका आकाश राना मगर उदयीमान खेलाडि बने । उनीहरुले नगद दश–दश हजार प्राप्त गरे ।
राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द लिङदेनको स्मरणमा २०६५ सालयता निरन्तर रुपमा फाल्गुनन्द गोल्डकप फुटवल प्रतियोगिताको आयोजना हुँदै आएको छ । यस बर्षदेखि एन्फाको पात्रोमा समेत समावेश भएको यस प्रतियोगितलाई आगामी संस्करणहरुमा अझ स्तरीय बनाउँदै लगिने आयोजक फिदिम स्पोर्टिङ क्लवका अध्यक्ष बिमल कुमार श्रेष्ठले बताए ।
लबले लिए रेफ्रि जीवनबाट अवकाश ः प्रतियोगिताको मूख्य रेफ्रिको रुपमा फिदिम आएका फिफा रेफ्रि लब खत्रीले आइतबार नै रेफ्रि जीवनबाट अवकाश लिएका छन् । नेपालका अब्बल रेफ्रिको परिचय बनाएका खत्रीका लागि फाल्गुनन्द गोल्डकपको नवौं संस्करण आफ्नो रेफ्रि जीवनको अन्तिम प्रतियोगिता बन्यो । देश तथा बिदेशका भिविन्न खेलहरु खेलाइसकेका खत्रीलाई प्रतियोगिता समापन समारोहको अवशरमा आयोजक फिदिम स्पोर्टिङ क्लवले ताम्रपत्र र नगद २५ हजारले सम्मान गरेको छ । ललीतपुरका स्थाइ बासिन्दा खत्री फिफा रेफ्रि भएको मात्र नौ बर्ष पुगेको छ । यसपल्ट अखिल नेपाल फुटवल संघ (एन्फा) ले म्याद थप नगरिदिएपछि खत्रीले १७ बर्षे रेफ्रि जीवनबाट अवकाश लिएका हुन् ।
साम्पाङलाई प्रजापति नेपाल खेलकुद पत्रकारिता पुरस्कार ः यसैबीत यस वर्षको स्वर्गिय प्रजापति नेपाल खेलकुद पत्रकारिता पुरस्कार समेत वितरण गरिएको छ । उक्त पुरस्कारबाट यसपल्ट पत्रकार गणेश साम्पाङ पुरस्कृत भएका छन् । हरेक वर्ष फाल्गुनन्द गोल्डकपको फाइनलको दिन उक्त पुरस्कार वितरण गरिंदै आएको छ । नेपाल पत्रकार महासंघ पाँचथर शाखा र फिदिम स्पोर्टिङ क्लवले संयुक्त रुपमा वितरण गर्ने उक्त पुरस्कार आफ्ना स्वर्गिय पिताको स्मृतिमा फिदिमका ब्यवसायी हरि नेपालले स्थापना गरिदिएका हुन् । सम्मान पत्र सहित नगद दश हजार राशीको उक्त पुरस्कार संस्थापक हरि नेपालले नेपाल समाचारपत्रका पाँचथर संबाददाता साम्पाङलाई वितरण गरेका थिए ।