धरान/धरान उपमहानगरले जोरधारे मुहानको नाममा दिएको खर्दु मुहानको पानी घुमाउरो तरिकाले भूमाफीयाको चङ्गुलमा परेको धरान–१३ बासीले बताएका छन् ।

धरान–१३ को खर्दु जोरधारे मुहान खानेपानी सरोकार समितिले मंगलबार छलफल गर्दै भूमाफीयाहरुले आफ्नो फाइदाका लागि पाँचकन्या डुम्रे शिखरवास खानेपानी तथा सरसफाई व्यवस्थापन समितिको नाममा जोरधारे मुहान भन्दै खर्दुबाट पानी ल्याउने प्रयास गरिरहेको हो । खानेपानी ल्याउनका लागि निर्माण भइरहेको क्षेत्रहरुलाई तत्काल रोक्नको लागि धरान उपमहानगरमा आइतबार डेलिगेसन गए पनि हालसम्म नरोकेको सदस्य महेन्द्र प्रधानले बताए ।
जम्मा ५४ घरधुरीको लागि अहिले खानेपानी ल्याउने प्रयास भइरहेको छ । तर, हाल पाँचकन्या, डुम्रे र शिखरवासका उपभोक्ताहरुले पानी खाइरहेको समितिका सदस्य सचिव जनसेवक भण्डारीले बताए । २०३६ सालमा सर्दुखर्दु जलाधार क्षेत्रको नाममा नेपाल खानेपानी संस्थानलाई अधिकार दिइसकेको अवस्थामा उक्त समितिलाई मुहान क्षेत्रबाट पानी ल्याउनको लागि धरान उमपहानगरले अधिकार दिनै नमिल्ने उनले बताए । ‘यो नियोजित रुपमा भूमाफीयाहरुले पानी लाने प्रयास गरिरहेका छन् ।’ उनले भने ।
२०७१ साल पुष ३० गते धरान उपमहानगरका तत्कालीन कार्यकारी अधिकृत टीकादत्त राईले निर्णय गरेर उक्त समितिलाई अधिकार प्रदान गरेको छ । तर, उक्त समयमा त्यो समिति नै बैद्यानिक देखिदैन । उक्त समितिले २०७० सालदेखि नै विभिन्न सरकारी कार्यालयहरुबाट अनुमति लिएको देखिन्छ । जवकी त्यो समयमा उक्त समिति अवैद्यानिक रुपमा कार्य गरेको देखिन्छ । गोर्खा वेलफेयर स्किम अन्तर्गतको ग्रामिण खानेपानी तथा सरसफाई कार्यालयले ५४ घरधुरीको लागि पानी खुवाउने डिजाइन रिपोर्टमा उल्लेख छ ।
यसरी भित्री रुपमा भूमाफीयाहरुले नै उक्त क्षेत्रमा जग्गा प्लटिङ गरी खानेपानी खुवाउने प्रयास गरेको देखिने समितिको आरोप छ । सदस्य महेन्द्र प्रधानले डेलिगेसनको क्रममा धरान उपमहानगरका नगर प्रमुख तारा सुब्बालाई कुरा राख्दा पूरानो निर्णय उल्टाउन गाह्रो हुने भन्दै आफूहरुले विज्ञहरुलाई देखाएर मात्रै अघि बढ्ने जानकारी गराएको बताए । ‘काम रोकिएको छैन् । उनले भने, ‘धरान नपाले रोक्न सकेको छैन् । यो तत्काल रोक्न माग गर्दछौं ।’
जनसरोकार मञ्चका अध्यक्ष कृष्णनारायण पलिखेले पनि पत्रमा एउटा कुरा उल्लेख गरेको अर्को काम गरेको देखिने बताए । ‘यहाँ एउटा पत्र अर्को पत्रसँग मिल्दैन ।’ उनले भने, ‘बेइमानी त्यहीबाट शुरु हुन्छ ।’ पूर्व वडा अध्यक्ष हरिहरप्यारा श्रेष्ठले पनि धरान–१३, १४ मात्रै नभई धरानवासीले नै ठूलो समस्या बेहोर्नु पर्ने देखिएको बताए । उनले यो कसैको फाइदाको लागि पानी लाने कार्य भइरहेको बताए । अहिले जनस्तरबाट समिति गठन गर्दै उक्त कार्य तत्काल रोक्नको लागि दवावमूलक कार्यक्रमहरु सारेको छ ।
समितिले मंगलबारको छलफलबाट वडा समिति र धरान उपमहागनरलाई दवाव सिर्जना गर्ने बताएको छ । समितिका संयोजक डम्बर तामाङले वडा कार्यालयहरुमा दवाव सिर्जना गर्दै धरान उपमहानगरमा पनि धर्ना दिनेलगायतको कार्यक्रम सार्वजनिक गर्ने बताएको छ ।