शनिश्चरे/नेकपा एमाले अध्यक्ष तथा झापा निर्वाचन क्षेत्र नम्वर ५ का नवनिर्वाचित प्रतिनिधिसभा सदस्य केपी शर्मा ओलीले जिल्लाको गौरीगञ्जलाई स्मार्ट सिटी वनाउनका लागि नक्सा तयार गर्न सरकारबाट २ करोड रुपैयाँ छुट्याइसकेको बताएका छन् ।

[caption id="attachment_64390" align="aligncenter" width="1000"] तस्वीर : केपी ओली[/caption]

विजय उत्सव मनाउन झापामा रहेका ओलीले मंगलबार गौरादहमा आयोजित कार्यक्रममा झापाको आफ्नो क्षेत्रको दक्षिणी भूभाग असल नेतृत्वको अभावका कारण विकासमा पछि परेको बताउँदै सो क्षेत्रका लागि आफुले विकासको वजेट छुट्याउन पहल गरेको प्रसंग अघि सार्दै सो कुरा बताएका हुन् ।

अव झापा ५ को विकासको नेतृत्व स्वयम् आफ्नैं काँधमा आएकोले यो क्षेत्रको समग्र विकासमा आफ्नो ध्यान जाने ओलीले बताए । त्यहाँ नयाँ योजना तथा अधुरा रहेका विकासका कामहरुको पूर्णता, बाटो , पुल पुलेसा लगायतका कामले अव चाँडै नै पूर्णता पाउने आश्वासन समेत दिए । यस क्रममा उनले हुलाकी राजमार्गको काम आफुले सुरु गरे पनि सरकार स्थाई नभएकाले यसले पूर्णता पाउन नसकेकोमा दुःख व्यक्त गर्दै भने ‘ अव यो काम वाम गठवन्धनको सरकारले मेरो नेतृत्वमा पुरा गराउँछ ।’ उनले अव विराटनगर र भद्रपुर जान पाडाजुँगी पुगेर पूर्वपश्चिम राजमार्गको घुमाउरो यात्रा नगरी यहि हुलाकी मार्गवाट सहज बनाउने कुरामा स्थानीयलाई ढुक्क रहन आश्वस्त पारेका थिए ।

मंगलबारै झापाको गौरादहमा आयोजित बधाई तथा धन्यवाद सभामा बोल्ने क्रममा ओलीले निर्वाचनका बेला प्रतिबद्धता गरेका सबै कुराहरुलाई काममा रुपान्तरण गर्ने समय आएको बताए । देशलाई समृद्ध र विकसित बनाउने अभिभारा वाम गठबन्धनको काधमा आएको बताउँदै ओलीले थपे ‘ आफ्नो क्षेत्रसँगै देशैभरीका विकास निर्माणको लहर सिर्जना गर्दै नागरिकले अपेक्षा गरेभन्दा बढि काम गर्ने म प्रतिबद्धता व्यक्त गर्छु, तपाईहरु ढुक्क हुनुहोस् ।’

उनले चुनावमा केही पार्टीसँग प्रतिस्पर्धा भएपनि देश विकास र समृद्धिका लागि भने सबैलाई समेटेर लैजाने पनि वताए । कार्यक्रममा सो क्षेत्रको (क) प्रदेशसभा सदस्यमा निर्वाचित एमालेका अर्जुन राई र (ख) क्षेत्रबाट निर्वाचित एमालेकै हिक्मत कार्की सहित सहभागि थिए ।