शनिश्चरे/प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा निर्वाचित भएकाहरुको खुसीयालीमा मोरङ निर्वाचन क्षेत्र नम्बर १ र ३ मा मंगलबार पनि विजय र्याली निकालिएको छ ।

वाम गठवन्धनका तर्फबाट मोरङ निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभाका लागि निर्वाचित नेकपा एमालेका पोलिटव्यूरो सदस्य भानुभक्त ढकाललाई सामेल गराई सो क्षेत्रको प्रदेश (क) मा विजयी र्याली निकालिएको छ ।

वाम गठवन्धनको क्षेत्रीय निर्वाचन परिचालन कमिटीको संयोजनमा बस, मोटरसाइकल, कार र सिटी सफारीमा एमाले र माओवादी केन्द्रका नेता, कार्यकर्ता एवम् मतदाता गरी हजारौंको संख्या सहभागि भई पथरीशनिश्चरेको पथरी चोकबाट र्याली निकालिएको हो ।

विजयको खुसीयालीमा ढकाललाई अविरजात्रा गर्दै सहभागि सवैले रातो टिका लगाएर नाचगान सहितको र्यालीले पथरीशनिश्चरे नगर क्षेत्र परिक्रमा गरेको छ ।

नवनिर्वाचित ढकालले आफुले क्षेत्रको सुकुम्वासी तथा अव्यवस्थित वसोवास, खोला कटानको समस्या समाधान गर्दै पर्यटन तथा पूर्वाञ्चल विश्वविद्यालयको प्रवद्र्धन, बाहुनीको पेटेलखानीको अन्वेषण र उत्खनन्का साथै जनताको चौतर्फी समृद्धिका लागि आफ्ना प्रतिवद्धता पुरा गर्ने बताएका छन् ।

नेपाली कांग्रेससंगको दाउपेचको प्रतिष्पर्धामा निकै चर्चामा रहेको सो क्षेत्रका लागि कांग्रेसका सुनील शर्माले भन्दा १ हजार ९ सय ७ मत बढी ल्याएर ढकाल विजयी वनेका हुन् । ढकालले ४२ हजार ४ सय १३ र शर्माले ४० हजार ५ सय ६ मत प्राप्त गरेका थिए ।

नयाँ मतदाता नथपिएको अवस्थामा स्थानीय तहको निर्वाचनका आधारमा काङ्ग्रेसको भन्दा वाम गठबन्धनको मत २१ हजार अगाडि रहेको थियो । यस आधारमा शर्माले ढकाललाई कडा टक्कर दिएको देखिन्छ । शर्मा विराटनगरस्थित नोवेल मेडिकल कलेजका संञ्चालक समेत हुन् । चुनाव र उम्मेदवारीको घोषणापछि उनले यस क्षेत्रका जनतालाई झण्डै ३ महिना अघिदेखि निशुल्क उपचार गरेको तथा विजुलीका पोल, ह्यूम पाइप, वाटो ग्राभेल सहितका प्रसंग चर्चित र विवादास्पद रह्यो । यसबारेमा आचार संहिताको उल्लङ्घन भएको भन्दै वाम गठबन्धनले निर्वाचनमा आयोगमा शर्मा विरूद्ध उजुरीसमेत दिएको थियो ।

तेह्रथुमको ओख्रेमा २०१८ मा जन्मिएका ढकाल मोरङका स्थायी बासिन्दा र मतदाता भने होइनन् । उनको मतदाता नामावली काठमाडौंमा छ ।

अनेरास्ववियूको महासचिवसम्म भएका ढकाल विद्यार्थी राजनीति हुँदै पार्टी संगठनमा क्रियाशील भएका हुन् । २०४५ सालमा तत्कालिन माले पार्टीको सदस्यता प्राप्त गरेका उनी दोस्रो संविधान सभा २०७० मा समानुपातिक तर्फबाट तेह्रथुमका लागि सभासद् थिए । उनी दोस्रो संविधान सभा र त्यसपछिको संसदमा एमालेका प्रमुख सचेतक पनि थिए ।

उता, वाम गठवन्धनका तर्फबाट मोरङ ३ को (ख) क्षेत्रमा प्रदेशसभा सदस्यका लागि विजयी राजकुमार ओझा र प्रतिनिधिसभा सदस्यमा विजयी ढकाल सहित (ख) क्षेत्रका लागि सोमबार विराटचोकमा भव्य रुपमा विजय र्याली निकालिएको थियो । बुधबार बेलबारीमा र्याली निकालिने निर्वाचन परिचालन कमिटीले जनाएको छ । युवा नेता ओझाले २ हजार ५ सय ३३ मत अन्तरले २२ हजार ८ सय २० मत ल्याई कांग्रेसका ललितबहादुर श्रेष्ठलाई पराजित गरेका थिए ।

यता, (क) क्षेत्रबाट प्रदेशसभा सदस्यका लागि निर्वाचिन कांग्रेसका सूयर्माराज राईको विजयमा पनि (क) क्षेत्रको पथरीशनिश्चरे, कानेपोखरी र वेलबारीमा र्याली निकालिएको छ । युवा नेता राईले वाम गठवन्धन अन्तर्गत माओवादीकी गीता तिम्सिनालाई ९ सय मत अन्तरमा २० हजार २ सय ९९ मत ल्याएर पराजित गरेका थिए ।

उता, मोरङ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभाका लागि निर्वाचित वाम गठवन्धनका तर्फबाट एमालेका घनश्याम खतिवडा तथा प्रदेश (क) मा माओवादी केन्द्रका कुलप्रसाद साम्बा र (ख) मा एमालेका उपेन्द्र घिमिरे सहभागि भई सो क्षेत्रमा पनि विजयी र्याली भइरहेको छ । सोमबार (ख) प्रदेशको लेटाङमा र मंगलबार (क) को उर्लावारीमा विजय र्याली भएको हो । कांग्रेसका मोरङ सभापति रहेका पूर्व सांसद डिकबहादुर लिम्बूलाई ६ हजार ८८ मतले पछि पार्दै खतिवडा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । खतिवडाले ३७ हजार ५ सय २४ मत प्राप्त गरि निर्वाचित भए भने उनका निकटतम प्रतिस्पर्धी लिम्बूले ३१ हजार ४ सय ३६ मत प्राप्त गरेका छन् । ०७० को दोस्रो संविधानसभा निर्वाचनमा भनें लिम्बूले खतिवडालाई पराजित गरेका थिए ।

उता, साम्बाले १९ हजार ५ सय ५४ मत ल्याएर विजयी भए । कांग्रेसका ललित अधिकारीभन्दा ४ हजार २ सय ९१ बढी मत उनले ल्याए । अधिकारीले १५ हजार २ सय ६३ मत ल्याएका थिए । घिमिरेले कांग्रेसका इश्वरी कोइरालाले भन्दा २ हजार ८ सय ७ मत वढी ल्याएर आफुलाई विजयी वनाएका थिए । जसमा घिमिरेको १७ हजार १ सय १७ र कोइरालाको १४ हजार ३ सय १० मत रहेको थियो ।