काठमाडौं /नेपाली कांग्रेससँग गठबन्धन र चुनावी तालमेल गरेका तीन पार्टीमध्ये बाबुराम भट्टराई नेतृत्वको नयाँशिक्तिलेमात्र तालमेलबाट फाइदा लिन सकेको छ।
[caption id="attachment_64372" align="aligncenter" width="1000"]
फायल[/caption]
कमल थापा नेतृत्वको राप्रपा र पशुपति शमशेर राणा नेतृत्वको राप्रपा (प्रजातान्त्रिक) लोकतान्त्रिक गठबन्धनमा सामेल भएपनि कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनले उनीहरुलाई कहीँपनि विजयको परिणाम दिलाउन सकेन।
लोकतान्त्रिक गठबन्धन अन्तर्गत रहेको राप्रपाले प्रतिनिधि सभातर्फ दैलेख–१, मकवानपुर–१, बाँके–२ र काठमाडौ–७ गरी ४ ठाउँमा उम्मेदवारी पाएको थियो।
प्रदेश सभामा चाहिँ धादिङ र म्याग्दीमा गरी २ प्रदेशमा मात्र लोकतान्त्रिक गठबन्धन अन्तर्गत उम्मेदवारी दिएको थियो।
तर, मकवानपुर–४ मा अध्यक्ष कमल थापा सहित राप्रपाका सबै उम्मेदवारहरु पराजित भए।
यसैगरी पशुपति शमशेर राणा नेतृत्वको राप्रपा (प्रजातान्त्रिक) ले पनि प्रतिनिधि सभाका ४ वटा सिटमा उम्मेदवारी पाएको थियो।
अध्यक्ष राणा सिन्धुपाल्चोक–२, महामन्त्रीहरु बिक्रम पाण्डे चितवन–३, दीपक बोहोरा रुपन्देही–३ र सुनिलबहादुर थापा धनकुटाबाट उम्मेदवार थिए। तर उनीहरु पनि सबै पराजित भए।
प्रदेश सभामा चाहिँ उसले लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवारी पाएको थिएन।
कांग्रेससँग चुनावी गठबन्धन गरेको भट्टराई नेतृत्वको नयाँशक्तिले भने प्रतिनिधि सभामा गोरखा–२ का अलावा प्रदेश सभामा गोरखा–२ ‘क’ र रसुवा ‘क’ १ मा उम्मेदवारी पाएको थियो।
गोरखा–२ मा भट्टराई आफै उम्मेदवार थिए। देशभरका अन्य निर्वाचन क्षेत्रमा एक्लै उम्मेदवार रहेकोमा कुनै उम्मेदवार जित्न नसकेपनि कांग्रेससँगको तालमेलका कारण गोरखा–२ मा भट्टराई, गोरखा–२ ‘ख’ मा हरिशरण आचार्य र रसुवा ‘ख’ मा प्रेमबहादुर तामाङ विजयी भए।
नयाँशक्तिसँगको तालमेलबाट कांग्रेस गोरखा–२ ‘क’ मा लाभान्वित भयो, जहाँ कांग्रेसका धीरन थापा माओवादी केन्द्रका अमर तमुलाई पराजित गर्दै विजयी भए।
यसैगरी रसुवाको प्रतिनिधि सभा सिटमा पनि नयाँशक्तिसँगको तालमेलकै कारण कांग्रेसका मोहन आचार्यले विजय हासिल गरे।
तर, नयाँशक्तिको साथ पाएपनि गोरखा–१ का तीनै सिटमा कांग्रेसले लाभ लिन सकेन। त्यहाँ वामगठबन्धन अन्तर्गत माओवादी केन्द्र र एमालेका उम्मेदवारहरु विजयी भए।
नेपालखबर