पहिलो नेपाली नर्स डा. उमादेवी दासको शनिबार निधन भएको छ । नेपालकी पहिलो नर्सका रुपमा ल्हामू अमात्यलाई सरकारले मान्यता दिएपनि नेपालीकी छोरी, नेपालमै जन्मेर नेपालमै नर्स पेसा अंगाल्ने महिलाका रुपमा उनको नाम अगाडि आउने गर्दछ ।
नेपाली नागरिकसँग विवाह गरेर आएकी अमात्यलाई सरकारले केही महिनाअघि मात्रै पहिलो नर्स घोषणा गरेको थियो । त्यसअघि दासलाई नै पहिलो नर्स मानिन्थ्यो ।
दास नेपालमै जन्मीएर नेपालमा नै नर्सिङ पेसामा आवद्ध भएको कारणले उनलाई पहिलो नेपाली नर्सका रुपमा सबैले चिन्ने गरेका छन् ।
नेपाल नर्सिङ एशोसियसन र नर्सिङ काउन्सिलको संस्थापक अध्यक्ष समेत रहेकी डा।दासले वि।स। २००४ सालबाट पद्मकन्या स्कुलमा शिक्षण पेसा अपनाएर सार्वजनिक जीवनको सुरुवात गरेकी थिइन् ।
उनले कोलम्बिया युनिभर्सिटीको टिचर्स कलेज न्युयोर्कबाटै सन् १९८४ मा डक्टर अफ एजुकेसन इन नर्सिङ उपाधि लिइन् । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले नेपालमा औपचारिक रुपमा नर्सिङ ट्रेनिङ स्कुलको स्थापना गरेपछि त्यसमा पनि उनले सन् १९५७ देखि १९७२ सम्म सिनियर नर्स ट्युटर, सुपरिटेन्डेन्ट र नेश्नल डाइरेक्टर नर्स भएर काम गरिन् ।
स्वर्गीय दासले नेपाल नर्सिङ क्याम्पसमा पहिलो नर्सिङ क्याम्पस प्रमुखका रुपमा सन् १९७२ देखि १९८० सम्म काम गरेकी थिइन् ।