ताप्लेजुङ / ताप्लेजुङमा प्रत्यक्षतर्फको निर्वाचनमा प्रतिनिधिसभा र प्रदेशसभा ‘क’मा जितेको नेकपा एमालेले समानुपातिकमा पनि सबै दललाई पछि पादै पहिलो भएको छ ।

सोमबार सम्पन्न समानुपातिकतर्फको मतगणनामा प्रतिनिधिसभा र प्रदेशसभा दुवैमा एमालेले नेपाली कांग्रेसलाई उछिनेको छ ।

समानुपातिकमा प्रतिनिधिसभातर्फ एमाले कांग्रेसभन्दा ५ हजार ९४१ मतले अघि रहेको छ भने प्रदेश ‘क’मा ३ हजार ३५३, प्रदेश ‘ख’मा २ हजार १५३ मतले अघि रहेको छ ।

प्रतिनिधिसभातर्फ समानुपातिकमा एमालेले २० हजार ७४० मत प्राप्त गर्दा कांग्रेसले १४ हजार ७९९ मत प्राप्त गरेको छन् ।

यस्तै, प्रदेससभातर्फ ‘क’ मा एमालेले १० हजार ८११ मत पाएको छ भने प्रतिस्प्रधि कांग्रेसले ७ हजार ४५८ मत प्राप्त गरेको छ ।

यस्तै, प्रदेशसभातर्फ ‘ख’ क्षेत्रमा एमालेको पक्षमा ८ हजार ३०८ मत खस्दा कांग्रेसले ६ हजार १५५ मत पाएको मुख्य निर्वाचन अधिकृत कृपासुर कार्कीले जानकारी दिए ।

ताप्लेजुङमा प्रतिनिधिसभातर्फ ५१ हजार ७४८ मत, प्रदेशसभातर्फ ‘क’ क्षेत्रमा २८ हजार ९६६ र ‘ख’मा २२ हजार ७ सय ८२ मत खसेको थियो ।

ताप्लेजुङमा समानुपातितर्फको मतगणनामा तेस्रो स्थानमा रहेको नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभा, प्रदेशसभा ‘क’ र ‘ख’मा क्रमशः ६ हजार ३४१, ३ हजार ४४१ र २ हजार ८९७ मत प्राप्त गरेको छ ।

यस्तै, समानुपातिकमा चौथो स्थानमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च उदाएको छ ।

बदर मतको संख्या उल्लेख्य समानुपातिकमा प्रतिनिधिसभा र प्रदेशसभाको मतपत्र एउटै पानाको दुई भागमा रहेकाले मतदाता अलमलमा परेको पाइएको छ । समानुपातिक मत गणना गर्दा बदर मतको संख्या पनि ताप्लेजुङमा उल्लेख्य पाइएको छ ।

प्रतिनिधिसभातर्फको समानुपातिकको गणनामा कुल ५१ हजार ७४८ मतमध्ये ४ हजार ६९१ मत बदर भएको मुख्य निर्वाचन अधिकृत कृपासुर कार्कीको भनाइ छ ।

यस्तै, प्रदेशसभातर्फ ‘क’मा ३ हजार ५२१ र ‘ख’मा ३ हजार ६०३ मत बदर भएको कार्कीले बताए ।

समानुपातिक मतपत्रमा एउटैमा दुई ठाउँ मत लगाउनुपर्नेमा कसैले एक ठाउँमामात्रै, कसैले माथिल्लो मतपत्रमा नै दुई ठाउँमा त कसैले दुईभन्दा बढी पनि मतदान गरेको भेटिएको उनको भनाइ छ ।