काठमाडौं/ प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा पार्टीले निकै कमजोर नतिजा निकालेपछि नेपाली कांग्रेसभित्र विशेष महाधिवेशन गरी नेतृत्वबारे पुनर्विचार गर्नुपर्ने बहस सुरु भएको छ।
कांगेस नेता तथा पूर्व सांसद मनमोहन भट्टराईले नेतृत्वको कमजोर कार्यशैली र एकल निर्णयका कारण पार्टीले हार बेहोरेको बताए।
‘त्यसैले अब तत्काल पार्टीको विशेष महाधिवेशन बोलाउनुपर्छ, मेरो अभियान अब त्यसैमा हुनेछ,’ उनले भने।
‘पार्टी नेतृत्वले विगतमा विभिन्न प्रसंगमा लिएका निर्णय पनि कारक रहे, सरकारको नेतृत्व पनि राम्रोसँग गर्न सकेन’, उनले भने।
खासगरी तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीमाथि महाअभियोग लगाउनु, प्रहरी नेतृत्व चयनमा बखेडा गर्नु, लोकमानसिंह कार्कीविरुद्ध महाअभियोग अघि बढ्दा संस्थागत रुपमा उभिन नसक्नु, जम्बो मन्त्रिमण्डल बनाउनु, चुनावमा जाँदै गर्दा गृहमन्त्री खाली राख्नु जस्ता गम्भीर गल्ती भएको उनको भनाइ छ।
उम्मेदवार चयनमा पनि गम्भीर त्रुटि भएको उनले बताए। ‘समानुपातिकतर्फको मतमा धेरै अन्तर छैन। विगतको भन्दा केही मात्र कम आएको छ,’ उनले भने। तर, प्रत्यक्षतर्फका उम्मेदवार चयन गलत हुन जाँदा हार बेहोर्नुपरेको उनले बताए।
‘भ्रातृ संगठनको परिचालनमा पनि नेतृत्व चुकेको उनको भनाइ छ। यो चुनावमा नेविसंघ, तरुण दल, महिला संघको कुनै भूमिका देखिएन’, उनले भने। भ्रातृ संगठनका चुनावमा पनि पार्टी सभापति शेरबहादुर देउवाले निर्देशित गरेर मनोनयनकै झल्को दिएको उनले बताए।
‘४३ वर्षको मान्छे पनि नेविसंघको सभापति हुन्छ ? ’ उनले भने।
त्यसबाहेक राष्ट्रियताको मुद्दा, नाकाबन्दीको मौनताका कारण पहाडी क्षेत्रमा र मधेस मुद्दामा पनि स्पष्ट अडान लिन नसक्दा तराईमा पार्टी कमजोर भएको उनले बताए।
‘कुनै पनि राष्ट्रिय मुद्दामा पार्टी स्पष्टसाथ उभिन सकेन। एउटा पक्ष लिएर दृढताका साथ उभिन सक्नुपर्थ्यो’, उनले भने।
‘जनमत कमजोर भएको भए त चितवन महानगरपालिकामा रेणुलाई जिताउने हैसियत कांग्रेसको कसरी हुन्थ्यो ?’ उनले भने। अब पार्टीलाई तलैदेखि सुदृढ गर्दै अगाडि बढाउनुको विकल्प नभएको उनको ठम्याइ छ।
वाम गठबन्धन धेरै लामो नजाने भट्टराईको विश्लेषण छ।
‘ओलीको सरकारमा मन्त्री पठाएर प्रचण्डजी चुपो लागेर बस्नुहोला तरु’ उनी भन्छन्, ‘अन्तिम परिणाम आइसकेको छैन, पर्खौ। तर त्यसअनुसार कांग्रेस, मधेसवादी दल समेटेर सरकारको नेतृत्व गर्ने अवस्था रहे प्रचण्डजीले एमालेसँग पार्टी एकता गर्नु हुँदैन। त्यस्तोमा कांग्रेसले आफ्नो स्पेस सिर्जना गर्न सक्छ।’
संसदमा कमजोर रहे पनि राजनीतिक जागरण अभियान चलाएर जनतामाझ चाहिँ अझै कांग्रेस विकल्प हो है भन्ने सन्देश दिनुपर्ने उनको ठहर छ। त्यसका लागि तत्काल विशेष महाधिवेनमा जानुको विकल्प नरहेको उनले बताए।
नेपाललाइभ