बैतडी/ पूर्वप्रधानमन्त्री एवं राप्रपाका पूर्व अध्यक्ष लोकेन्द्रबहादुर चन्दको गृहजिल्ला बैतडीमा राप्रपा पराजित भएसँगै प्रदेश नं ७ मा उसको उपस्थिति शून्य भएको छ ।
प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रदेश नं ७ को बैतडीबाट मात्रै प्रत्यक्षमा उम्मेदवारी दिएको राप्रपाले हार व्यहोरेपछि उसको उपस्थिति शून्य भएको हो । नेपाली काँग्रेससँग मिलेर लोकतान्त्रिक गठबन्धनका तर्फबाट उम्मेदवारी दिएका गणेशबहादुर चन्द वाम गठबन्धनका लीलाधर भट्टसँग पराजित भएपछि प्रत्यक्षबाट प्रदेशसभामा राप्रपाको उपस्थिति शून्य हुने भएको हो ।
बैतडीको प्रदेश ९ख० मा नेकपा ९एमाले०का भट्टसँग चन्द पाँच हजार ७१ मतअन्तरले पराजित हुनुभएको हो । राप्रपाको संगठन कमजोर हुनु, अपेक्षाकृतरुपमा काँग्रेसको साथ नपाउनाले पनि पराजय भोग्नु परेको राप्रपाका केन्द्रीय सदस्य हेमबाबु लेखकले बताए । उनले भने– “माओवादी द्वन्द्वकालबाटै राप्रपाले संगठन विस्तार गर्न नपाएको र पछिल्लो समयमा पार्टी विभाजन भएपछि झन् समस्या आएको हो ।”
बहुदलीय व्यवस्था आएपछि पनि बैतडीबाटै राप्रपाका लोकेन्द्रबहादुर चन्दले सरकारको नेतृत्व गरेका भएपनि पछिल्लो समयमा राप्रपा निकै कमजोर देखिएको छ । प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा प्रचारप्रसारका क्रममा पूर्वप्रधानमन्त्री चन्द गृहजिल्लामा नआएकाले पनि केही कम मत पाएको राप्रपाकै नेताहरुले बताएका छन् ।