धरान । शुक्रबार बिहानै बाम गठबन्धनका उम्मेदवारहरु धरानको सेउती खोला पारी खैरेनीटार पुगे । विगतमा पाँचकन्या गाविसअन्र्तगतको यो ठाउँ अहिले धरान उपमहानगरको वडा नं ४ मा पर्छ ।

बाम गठबन्धनका नेताहरुसँगै सुनसरी क्षेत्र नं १ का प्रतिनिधि सभा प्रत्यक्ष उम्मेदवार जयकुमार राई, प्रदेशसभा(ख)का उम्मेदवार प्रदिप भण्डारी, समानुपातिकतर्फ माओवादी केन्द्रकी उम्मेदवार चेतना श्रेङ र एमालेकी सावित्री श्रेष्ठ पनि खैरेनीटार पुगिन् । त्यहाँको कोणसभा सकेर बामगठबन्धनको टोली पत्राङबारी पुग्यो । जहाँ उम्मेदवारहरुले घरदैलो गरेर मतदाताहरुलाई घरमा, खेतबारीमा भेट्दै बामगठबन्धनलाई जिताउन आग्रह गर्दै पुगे । घरखेतमा नै उम्मेदवारहरु भेट्न आइपुग्दा मतदाताहरु पनि खुशी देखिए । मंसिर २१ गतेको निर्वाचनमा दुई तिहाई बुहमत ल्याउने घोषणा गरेको बाम गठबन्धनबाट सुनसरी क्षेत्र नं १ का उम्मेदवारहरु शुक्रबार धरान उपमहानगरपालिका भएर पनि दुर्गम मानिने वडा नं ४ को गाउँवस्तीमा मतदाताहरुलाई भेट्न पुगेका थिए । पत्राङबारीमा घरदैलो गरेपछि उम्मेदवारहरु दानाबारी हुदै हर्दिया पुगे । त्यहाँ पनि उम्मेदवारहरुले पैदल हिडेर मतदाताहरुलाई घर र खेटमा भेटेर सुखदुःखका कुराहरु गर्दै बाम गठबन्धनलाई जिताउन आग्रह गरे । मतदाताहरुले पनि बाटोको असुविधा, खानेपानीको चर्को समस्या रहेको उम्मेदवारहरुलाई गुनासो पोख्दै आश्वासनमात्र नबाड्न सुझाव दिए । उम्मेदवारहरुले पनि अब प्रदेश र केन्द्रमा स्थायी सरकार बन्ने भएकोले सडक, खानेपानीजस्त समस्यालाई समाधान गर्ने प्रतिवद्धता जनाएका थिए । हर्दियामा घरदैलो कार्यक्रम सकेपछि उम्मेदवारहरु दानाबारी फर्किए । जहाँ बाम गठबन्धनले वडा नं ४ को टोलस्तरीय खुला भलिवल प्रतियोगिताको संयोजन गरेको थियो । रुद्राक्ष आमा समुह दानबारी र खैरेनीटार बस्ती व्यवस्थापन समितिले आयोजना गरेको प्रतियोगिताको उद्घाटन समारोहलाई उम्मेदवारहरुले सम्बोधन गरेका थिए ।

प्रदेश र केन्द्रमा बहुमतको सरकार सुनसरी क्षेत्र नं १ मा बामगठबन्धनबाट प्रतिनिधि सभामा संयुक्त उम्मेदवार रहेका जयकुमार राईले खैरेनीटारको कोणसभालाई सम्बोधन गर्दै मंसिर २१ गतेको निर्वाचनपछि प्रदेश र केन्द्रमा बाम गठबन्धनको बहुमतको स्थायी सरकार बनाएर जनताले चाहेको जस्तो भौतिक, आर्थिक विकास र समृद्धिको सपना साकार गर्ने उनले बताए । अहिलेसम्म बामपन्थीहरु बहुमतमा भएर पनि एकापसमा नमिल्दा बहुमतको सरकार बनाउन नसकेको भन्दै उनले अब एमाले र माओवादी केन्द्र मिलेर बहुमत ल्याउने र ५ बर्षसम्म प्रदेश, केन्द्रमा स्थायी सरकार बनाएर देशमा विकासको लहर ल्याउने बताए । ीवगतमा बामपन्थीहरु एक हुदा २०४६ सालमा निरंकुश पञ्चायती व्यावस्था र २०६२÷०६३ पछि सामन्ती राजतन्त्रसमेत ढालेको उल्लेख गर्दै राईले अब बहुमतको स्थिर सरकार बनाएर देशमा व्यप्त गरिबि, अशिक्षा, असमानतालाई पनि ढाल्ने बताए । कन्यापोखरी जाने बाटोको ट्रयाक र स्तरोन्नतीमा निरन्तर बजेट हालेको बताउदै उनले यो बाटो, पुल र खानेपानी समस्या आफुहरुको प्राथमिकतामा परेको पनि खुलाए । ‘हामी वाचा मात्र गर्दैनौं काम गरेर पनि देखाउछौ । एमाले र माओवादी केन्द्र मिलेपछि देशैभर जित सुनिश्चित छ, हामी बहुमतको सरकार बनाएर काम गरेरै देखाउछौं,’उम्मेदवार राईले भने । मओवादी केन्द्रकी समानुपातिक उम्मेदवार चेतना श्रेङले बाम गठबन्धनले जनविरोधी, विकास विरोधीहरुलाई धक्का पुगेको बताउदै बाम गठबन्धनलाई फुटाउने षडयन्त्र भइरहेकोले त्यस्तो भ्रमको पछि नलाग्न मतदाताहरुलाई आग्रह गरिन् । चुनाव पछि बामपन्थीहरुको बहुमत सरकार बन्ने र जनताले चाहेको विकास हुने पनि उनले बताइन् ।