धरान/लोकतान्त्रिक गठबन्धनको तर्फबाट सुनसरी १ का लागि प्रतिनिधि सभाका प्रत्यक्ष प्रत्यासी संघीय समाजवादी फोरम, नेपालका वरिष्ठ नेता अशोक राईले सुनसरी १ मा बामगठबन्धन आत्तिसकेको बताएका छन् ।

उनले बामगठबन्धन आत्तिसकेका कारण पनि आफ्नोविरुद्ध अनर्गल प्रचारमा लागेको लोकतान्त्रिक गठबन्धनले धरान–८ मा गरेको संयुक्त प्रचार कार्यक्रमको क्रममा बताएका हुन् ।
टुरिष्ट उम्मेदवारको प्रचारबाजी गरेर आफूलाई खुइल्याउने काममा लागेका वामगठबन्धनलाई नेपालको संविधान र कानूनले नेपालको भूमिमा जहाँबाट पनि उम्मेद्वार उठ्ने व्यवस्था गरेको स्मरण गराउँदै एमाले र माओवादीका नेताहरु पनि आफ्नो जिल्ला बाहिरबाट उठेर जितेको थुप्रै उदाहरणहरु प्रस्तुत गरे । उनले भने–“मेरो शिक्षाआर्जन र राजनीतिक जीवनको शुरुवात धरानबाटै भएको हो र मैले २०३५ सालदेखि सुनसरी, धरानलाई मुख्यालय बनाएर कोशीअञ्चलमा भूमिगत रुपमा काम गर्दै आएको हुँ । देश र जनतालाई पञ्चायती तानाशाहीको बन्दीगृहबाट मुक्तगर्न भएको जनआन्दोलन १ को बेलाम यसै क्षेत्रमा कार्यरत थिएँ, तब म कसरी टुरिष्ट भएँ?”
उनले थपे, ‘एमालेकाएकजना बुद्धिजीवी मेरोविरुद्ध नेपाललाई पत्रिकामा लेख लेखेर तथानाम कुप्रचार गरे । उहाँ मेरो मित्र हुनुहुन्छ तर उहाँले जुन रुपमा तल गिरेर कुप्रचार पूर्ण लेख लेख्नु भयो, त्यो उहाँको बौद्धिक दरिद्रता हो । मधेशी जनताले न्याय र समानता खोज्दै आन्दोलनका क्रममा नाकाबन्दी गरेको विषयलाई लिएर मैले गराएको भन्ने जुन आरोप लगाउनु भएको छ, त्यो पहिचान विरोधीका साथै असमावेशी चिन्तनको दृष्टान्त हो ।”
अहिले आफू रहेको संघीय समाजवादी फोरम, नेपाल पार्टीको मुख्य राजनीतिक मुद्धा भनेको पहिचान हो भन्दै उनले पहिचानलाई जातीय कुरा भनेर एमाले पहिचानको विरुद्धमा गएको हुँदा आफूले एमाले परित्याग गरेको बताए । एमालेको संविधानसभाको चुनावी घोषणा पत्रमा पहिचान उल्लेख रहेको तर पहिचानलाई त्यागेको बताउँदै फोरमको एकमात्र उद्देश्य सबै नेपाली जनताको पहिचान र सबैलाई सम्मान रहेको उल्लेख गरे ।
प्रदेशको नाम राख्ने सवालमा समेत एमालेले उग्र पहिचान विरोधी बन्दै त्यसलाई जातीय राज्य हो भन्यो । के लिम्बुवान राख्दैमा त्यो लिम्बुहरुको मात्रै हुने हो ? पहिले नेपालमा एउटा साबुन थियो, शेर्पा साबुन । अब साबुनको नाम शेर्पा हुँदैमा त्यसले कुनै बाहुन–क्षेत्रीले वा अरु जातिले नुहाउनु हुँदैन भन्ने हो र ? हामीले त इतिहासलाई सम्मान गरौँ, पहिचानलाई संरक्षण गरौँ मात्र भनेका हौँ ।
उनले स्थानीय विकासका लागि संघीयता जरुरी भएजस्तै सबैको अस्तित्वका लागि पहिचान आवश्यक रहेको बताउँदै संविधान संशोधन गरेर त्यसमा सबै नेपाली जनताको पहचिान र अधिकार समेट्नुपर्ने र त्यसैका लागि लोकतान्त्रिक गठबन्धनलाई जिताउन आवश्यक भएको उल्लेख गरे । वाम गठबन्धन सत्ताको गठजोड भएकोले त्यसले अधिनायकवाद र देशमा नयाँ द्धन्द्ध जन्माउने राईको निष्कर्ष थियो ।
सुनसरी १ र धरानमा कहिले एमाले अनि कहिले माओवादीको नाममा वामले वर्चस्व कायम गर्दै आएता पनि अहिलेसम्म यस क्षेत्रको अपेक्षित विकास हुन नसकेको र उन्नति भन्दा अवन्नति हुँदै गएको सुनसरी १ (क) बाट प्रदेश सभाका लागि लोकतान्त्रिक गठबन्धनका प्रत्यक्ष प्रत्याशी किशोर राईले बताए ।
उनले भने, ‘देशमा आएको लोकतन्त्र र लोकतान्त्रिक गणतन्त्र ल्याउन जनताले गरेको बलिदान र उनीहरुको चाहनालाई सम्बोधन गर्ने काम भएन । सुनसरी र धरानको चौतर्फी विकासमावाम घटकले कुनै उल्लेख्य योजना ल्याउने र समाधानको उपाय खोज्ने काम गरेन । उनीहरुले त जहिले पनि माछा देख्दा दूलो भित्र हात र सर्प देख्दा दूलो बाहिर हात गरे । त्यसैले अब यहाँ सक्षम, सबल र जनताप्रति समर्पित नेतृत्वको रुपमा लोकतान्त्रिक गठबन्धनलाई जिताउन आवश्यक छ ।’
धरानमा जे जति विकास निर्माणका कामहरु भएका छन्, त्यो माओवादी वा एमालेले गरेको नभई आम धराने जनताले वैदेशिक रोजगार र विभिन्न व्यवसायबाट गरेको बताउँदै उनले यसका लागि नेपाली कांग्रेसलगायत अन्य दलहरुको उत्तिकै भूमिका रहेको स्पष्ट पारे ।
नयाँ समावेशी सोँच र योजना बनाई रणनीतिक रुपमा अगाडि बढेमा धरानको विकास पर्याप्त गर्न सकिने र धरानलाई प्रदेश नं. १ को राजधानी बनाउन सकिने बताउँदै राष्ट्रिय राजनीतिका सबल व्यक्तित्व अशोक राईको कमाण्डमा यस पटक लोकतान्त्रिक गठबन्धनका प्रत्याशीहरुलाई जिताई सो मौका दिन अनुरोध पनि गरे ।