धरान । बाम गठबन्धनका उम्मेदवारहरुलाई अत्यधिक बहुमतले जिताउन अनेम संघआवद्ध महिलाहरु जुर्मुराएका छन् । निर्वाचन क्षेत्र नं १ को महिला उपसमितिले बिहिबार महिलाहरुको भेला आयोजना गरी वडा र टोलहरुमा महिलाहरु सक्रिय गराउने निर्णय गरेको छ ।
बाम गठबन्धनको चुनावी अभियानलाई प्रभावकारी बनाउन प्रत्येक वार्डमा ९ जनाको समन्वयकारी भुमिका हुने गरी क्षेत्र नं १ को २७ वडामा कुल २ सय ४३ जनाको नाम भेलाले चयन गरेको छ । भेलाले आगामी प्रतिनिधि र प्रदेश सभा निर्वाचनलाई बाम गठबन्धनको पक्षमा पार्न महिलाहरुले वडा र टोल टोलमा घरदैलो अभियान सञ्चालन गर्ने निर्णय गरेको उपसमितिकी सचिव लहरु जिमीले बताइन् । यस्तै, मतदाता शिक्षा अभियान चलाउने, उम्मेदवारहरुलाई उपस्थित गराएर महिलाहरुको अलग्गै कोणसभा गर्ने र पार्टीसँग पनि समन्वय गरेर घरदैलो, सभाहरु सञ्चालन गर्ने निर्णय भएको उनले जानकारी दिइन् । ‘निर्वाचनमा अत्यधिक बहुमत ल्याउन हामी महिलाहरु फेरी जुर्मुराएका छौं, अब प्रत्येक वार्ड र टोल बस्तीहरुमा महिलाहरु सक्रिय भुमिकामा रहनुहुनेछ,’उनले भनिन्,‘हामी चुनावको दिनसम्म नै खटिन्छौं ।’
भेलामा निर्वाचन क्षेत्र नं १ अन्र्तगतको धरानको २० वार्ड, बराह नगरपालिकाको १ देखि ५ वार्ड र रामधुनी भाषी नगरपालिकाको ६ र ७ वार्डका अनेम संघका प्रतिनिधिहरुको सहभागिता थियो । उपसमितिकी संयोजक एवं धरान उपमहानगरकी उपप्रमुख मञ्जु भण्डारी सुवेदीले मतदाताहरुमा कुनै द्धिविधा नहुने गरी मतदाता शिक्षा अभियान शुरु गर्नुपर्ने बताइन् । उनले प्रत्यक्ष र समानुपातिक दुवैमा सुर्यमा भोट हाल्न पनि आग्रह गरिन् । ‘हामीमा कुनै अलमल हुनुहुदैन, प्रत्यक्षमा पनि सुर्यमा र समानुपातिकमा पनि सुर्यमा भोट हाल्ने हो,र अरुलाई पनि त्यसै गर्न भन्ने हो,’उनले भनिन्,‘अब अनेमसंघमा नयाँ पुस्तालाई पनि सक्रिय बनाउनुपर्छ । आमा, सासुहरुले आफ्नो छोरी बुहारीलाई पनि घरबाट निकाल्नुपर्यो ।’ भण्डरी संयोजक रहेको उपसमितिमा मैया तामाङ र निर्मला राई सहसंयोजक छन् ।