धरान । बाम गठबन्धनका साझा उम्मेदवार रहेका जयकुमार राईले धरान उपमहानगरसहितको सुनसरी क्षेत्र नं १ लाई प्रादेशिक राजधानी बनाउने भन्दै नेपाली कांग्रेस र संघीय समाजवादी फोरमका उम्मेदवारले झुटको खेती गरेको आरोप लगाएका छन् ।
किरात राई यायोक्खा सुनसरीले बिहिबार आयोजना गरेको राई उम्मेदवारहरुसँगको कार्यक्रममा उम्मेदवार राईले यस्तो आरोप लगाएका हुन् । कांग्रेसकै नेतृत्वमा वर्तमान सरकार हुदा पनि धरान(क्षेत्र नं १)लाई अस्थायी राजधानी बनाउन नसक्ने कांग्रेसीहरुले भविष्यमा राजधानी बनाउछु भन्दै जनता ढाट्ने काम गरेको बताए । ‘धरानलाई राजधानी बनाउछु भन्दै आश्वासन बाढीरहेका छन् । बनाउने नै हो भने अहिले किन नसकेको ? कांग्रेसकै नेतृत्वमा सरकार छ, किन अस्थायी राजधानी घोषणा गर्न पहल नगरेको ?’उनले कांग्रेसबाट प्रदेश सभा(क)का उम्मेदवार किसोर राईमाथि प्रश्न तेस्र्याए,‘हामी प्रतिपक्षमा छौं, सरकार त कांग्रेसको छ । त्यही सरकारले धनकुटालाई अस्थायी राजधानी तोकिसकेको छ, अनि धरानलाई बनाउछु भनेर भन्ने ? खै पहल गरेको ?’
कांग्रेस उम्मेदवार राईले जयकुमार भन्दा अघि मन्तव्य व्यक्त गर्दा धरानलाई प्रादेशिक राजधानी बनाउने भन्दै आश्वासन दिएका थिए । उनको यो भनाई पछि मन्तव्य व्यक्त गर्न आएका बाम गठबन्धनका उम्मेदवार राईले कांग्रेसी उम्मेदवारमाथि कडा आक्रोश पोखेका थिए । बामपन्थी उम्मेदवार राईले धरान १७ स्थित साकेला पार्कको जग्गा संरक्षण गर्दा पुर्व मेयर ध्यानबहादुर राईसँगै लागिपरेको स्मरण गर्दै आदिबासी, जनजातिको भाषा,धर्म, सँस्कार एवं सँस्कृति संरक्षणमा आफु संवेदनशील भएको बताए ।
सोही कार्यक्रममा संघीय समाजवादी फोरमका नेता एवं उम्मेदवार अशोक राईले बाम गठबन्धनका उम्मेदार जयकुमार नाताले भाई नै भएपनि आफुसँगैकै समान हैसियतको प्रतिस्पर्धी भएको बताए । केही मिडियाहरुमा गुरु र चेलाकोरुपमा चित्रित गरेकोमा उनले असहमति प्रकट गर्दै त्यस्तो नभएको र राजनीतिक प्रतिस्पर्धामा समान हैसियत भएको बताए । ‘केही मिडियाहरुमा गुरु चेला भनेर लेखिएको छ, तर त्यस्तो होइन । उहाँलाई होच्याउने मेरो नियत होइन, उहाँ समान हैसियतमो प्रतिस्पर्धी हो,’उनले भने ।