तेह्रथुम/तेह्रथुममा नेपाली कांग्रेसले चुनाव प्रचार प्रसारलाई तिव्रता दिएको छ । आगामी मंसिर २१ गते हुने प्रतिनिधि र प्रदेश सभा चुनावका लागि कांग्रेसका उम्मेदवारहरु संगठन परिचालन र प्रशिक्षण गर्दै गाउँ दौडाहामा छन् । जिल्लादेखि विभिन्न गाउँपालिका, नगरपालिका र वडास्तर सम्म कांग्रेसका सबै संगठन समितिहरु निर्माण भएर चुनाव प्रचार प्रसारलाई तिव्रता दिइएका काग्रेसले जनाएको छ ।
प्रतिनिधि सभाकी उम्मेदवार कांग्रेस नेतृ, भौतिक पुर्वाधार तथा यातायात राज्यमन्त्री सीता गुरुङ र प्रदेश सभा (क) का उम्मेदवार जिल्ला सभापति गोविन्द ढुंगाना सहित कांग्रेस नेताहरुको टोलीले विहीबार दुई स्थानमा भएका चुनाव प्रचार प्रसार कार्यक्रममा सम्बोधन गरेका थिए । विहान लालीगुराँस नगरपालिकाको चित्रे र दिउँसो छथर गाउँपालिकाको केन्द्र शुक्रबारेमा छुट्टा–छुट्टै चुनावी कार्यक्रम सम्पन्न भएको हो । नेताहरुले कांग्रेसकै नेतृत्व र त्यागले जारी भएको संविधानको कार्यान्वयन र लोकतन्त्रको रक्षाका लागि कांग्रेसका लागि पर्ने बताए । कांग्रेस युवा नेतृ तथा भौतिक पुर्वाधार राज्यमन्त्री गुरुङले छुट्टै भुगोलको रुपमा परिचित छथर क्षेत्रलाई सदरमुकाम हुँदै आठराईसँग सडक सन्जालमा जोड्नु आफ्नो अबको पहिलो प्राथमिकता भएको बताईन ।
प्रदेश सभा (क) क्षेत्रका उम्मेदवार जिल्ला सभापति ढुंगानाले संघीय लोकतान्त्रिक संविधान जारी भएपश्चात्को यो ऐतिहासिक निर्वाचनले कांग्रेस एक ढिक्का बनेको भन्दै कांग्रेसको नेतृत्वमा मात्रै संविधान कार्यान्वयन र प्रजातन्त्रको रक्षा गर्न सक्ने बताए । उनले जिल्लाको विकास निर्माणमा विगत देखि हालसम्म योगदान पु¥याउदै आएको भन्दै अब पनि निरन्तर डटिरहने बताए । कार्यक्रममा जिल्ला सचिव सन्तोष सुब्बा, महाधिवेशन प्रतिनिधि टेकराज तिगेला, प्रदेश सभा (ख) निर्वाचन प्रचार प्रसार समितिका संयोजक अर्जुनबाबु माबोहाङ, जिल्ला सदस्य बालकुमार गुरुङ लगायत नेताहरुले मन्तव्य राखेका थिए । यसैबीच नेपाली कांग्रेसको प्रदेश सभा (ख) निर्वाचन क्षेत्रको मेन्छ्यायेम गाउँपालिका–२, पौठाकमा चुनाव प्रचार प्रसार तथा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न भएको छ ।
कांग्रेस उम्मेदवार तथा प्याब्सनका केन्द्रीय अध्यक्ष विजय सम्बाहाम्फे सहित कांग्रेस नेताहरु सहभागी कार्यक्रममा चुनावी रणनीति र एजेण्डाहरु छलफल भएको थियो । नेता सम्बाहाम्फेले मेन्छ्यायेम गाउँपालिका प्राकृतिक श्रोत साधनले भरिपुर्ण रहेको भन्दै तिनको उचित परिचालन मात्रै जरुरी भएको बताए ।