शनिश्चरे /आगामी मंसिर २१ गते सम्पन्न हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा गठवन्धन सहितको प्रभावकारिता प्रष्ट्याउने योजनाका साथ झापाको दमकमा मंसिर २ गते हुने आमसभाको प्रचार प्रसारलाई तीव्रता दिइएको छ ।
निर्वाचन प्रचार–प्रसार अभियानको क्रममा मंसिर २ गते दमकस्थित गंगा नगरीमा हुने आमसभामा एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र राप्रपाका केन्द्रीय उपाध्यक्ष बुद्धिमान तामाङले संम्बोधन गर्ने कार्यक्रम रहेको छ । निर्वाचनको प्रचार प्रसारसँगै सो आमसभाको प्रचार प्रसारको सन्दर्भमा विहीवार दमकमा पत्रकार संम्मेलनको आयोजना गरी गठवन्धनका उम्मेदवारलाई वहुमतका साथ विजय हाँसिल गराउन मतदातालाई अपील गर्ने संयुक्त निर्वाचन परिचालन समितिका संयोजक एवम् झापा ५ का समानुपातिक उम्मेदवार होमबहादुर थापाले जनाए । तीन दलीय आमसभाको प्रचार प्रसार , ब्यवस्थापकीय र सवारी ब्यस्थापन लगायतका कामको तयारी अन्तिम चरणमा पुगेको उनले सुनाए । पत्रकारको जिज्ञासामा १ लाख बढी जनसहभागिता गराउने योजनाका साथ एक दर्जन उपसमितिहरु बनाएर काम भइरहेको थापाले उल्लेख गरे ।
पत्रकार सम्मेलनमा संसारकै अग्लो बुद्धको मूर्ती , क्लीन इन्डस्ट्रियल पार्क , दमक भ्यु टावर लगायतका कामहरुको विस्तृत परियोजना प्रतिवेदन तयारीको कार्य सम्पन्न गरी कामको थालनी गर्ने चरणमा पुगेको पनि संयुक्त प्रेस विज्ञप्तिमा उल्लेख छ । वहुमतको सरकार निर्माण गरी क्षेत्रको विकासको लहर सिर्जना गर्ने योजना सहित एमालेका थापाका साथै गठबन्धन भित्रको पार्टी राप्रपाका नेता विजय बराल, माओवादी केन्द्रका नेता गगन पुरीद्धारा संयुक्त रुपमा विज्ञप्ति जारी गरिएको छ । दमकमा आधुनिक सुविधा सम्पन्न सिटी हल निर्माणको काम शुरु भइसकेको छ ।
एमाले, माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टीसहित तीन राजनिति दलको संयुक्त वैठकले ५ हजार १ सदस्य रहेको मूल निर्वाचन परिचालन संयोजन समिति गठन गरेको छ । समितिको सहसंयोजकमा माओवादी केन्द्रका नेता गगन पुरी र राष्ट्रिय प्रजातन्त्र पार्टीका क्षेत्रीय अध्यक्ष बिजय बराल रहनु भएको छ ।
त्यस्तै, प्रदेशसभा अन्तरगत (क) एमाले नेता योगराज दाहाल संयोजक तथा माओवादीका हुकुमसिंह नेपाल राप्रपाका खेम तिम्सिना सहसंयोजक रहेको मूल प्रचार प्रसार समिति गठन भएको छ । प्रदेशसभा (ख) अन्तरगत एमालेका राजेन्द्र दाहाल संयोजक र माओवादीका दुर्गाप्रसाद चौलागाई (श्रीकान्त) र राप्रपाका टिकाराम खरेल सहसंयोजक रहेको समिति गठन गरिएको छ ।
सो समिमिले क्षेत्र नं ५ बाट प्रतिनिधिसभा सदस्यका उम्मेद्वार एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रदेश नं (क) बाट हिक्मत काकी (ख) बाट अर्जुन राईलाई भारी मतले बिजयी गराउने अभियानका पहिलो चरणका कार्यक्रमहरु संम्पन्न भइसकेको जनाएको छ ।
त्यस्तै, प्रदेश नं (क) र (ख) का उम्मेद्वारहरुले पनि आ–आफ्ना क्षेत्रमा निर्वाचन प्रचार–प्रसारका अभियानहरुलाई तीब्र बनाइराखेको उल्लेख छ । उता, वाम गठवन्धनलाई जिताउने योजना वनाउँदै मोरङ निर्वाचन क्षेत्र नम्बर ३ ‘क’ मा पनि विहीवारबाट गठवन्धनको घरदैलो कार्यक्रम सुरु भएको छ ।
कानेपोखरीस्थित कालीकोसी क्षेत्रबाट उम्मेदवार सहित प्रदेशस्तरीय घरदैलो कार्यक्रम सुरु भएको हो । प्रदेशसभा ३ ‘क’ मा माओवादी केन्द्रबाट प्रत्यक्षतर्फकी उम्मेदवार गीता तिम्सिना, समानुपातिक उम्मेदवार सुशीला घिमिरे सहितका नेता कार्यकर्ता घरदैलोमा सहभागि भएका छन् ।
३ ‘ख’ मा पनि त्यहाँका प्रदेशसभाका उम्मेदवार एमालेका राजकुमार ओझा सहितका नेता कार्यकर्ताको सहभागितामा घरदैलो जारी रहेको छ ।
यसैबीच, मोरङ ३ ‘क’ अन्तर्गत वाम गठवन्धनको पथरीशनिश्चरे नगरस्तरीय निर्वाचन परिचालन समितिको वैठकले आगामी मंसिर २ गते नगरको किराती चोक, शनिश्चरे चोक र पथरी बजारमा हुने चुनावीसभा र ३ गते विराटचोकमा हुने आमसभामा सक्रिय सहभागितालाई सवैलाई अपील गर्ने निर्णय गरेको छ ।
वैठकले ४ गते ७ नम्बर, ५ गते ८ नम्बर, ७ गते ९ नम्बर र ९ गते १० नम्बर वडामा घरदैलो कार्यक्रम समेत तय गरेको छ ।
वाम गठवन्धनकै मोरङ १ मा पनि चुनावी कार्यक्रम अघि बढेको छ ।
उर्लाबारी ४ मा आयोजित कोणसभामा माओवादी नेता तथा मोरङ क्षेत्र नं. १ (क) प्रदेश सभा सदस्य उम्मेद्वार कुलप्रसाद साम्बाले देशमा पाँच वर्ष स्थिर सरकार र लोकतान्त्रिक विकासका लागि वाम गठबन्धनलाई निर्वाचनमा मत दिन आग्रह गरेका छन् । वाम गठबन्धन केवल निर्वाचनका लागि मात्र नभई कम्युनिष्ट एकताका लागि भएको उनले बताए ।
आफ्नो क्षेत्र अन्तरगत पर्ने उर्लाबारी र मिक्लाजुङको गुरु योजना बनाएर पाँच वर्षमा विकासको लहर सिर्जना गर्ने उनको दावी छ ।
कार्यक्रममा माओवादी केन्द्रका केन्द्रीय सदस्य लक्ष्मी पौडल ‘विवेक’, नेकपा एमालेका सचिवालय सदस्य मानबहादुर श्रेष्ठलगायतले बोल्दै वाम गठबन्धनलाई मतदान गरी विजयी गराउन अपील गरेका छन् ।