-
Home
-
राशिफल
-
कम्युनिष्टहरूले बहुमत ल्याएर सरकार बनाउँछ: अध्यक्ष ओली
कम्युनिष्टहरूले बहुमत ल्याएर सरकार बनाउँछ: अध्यक्ष ओली
- कार्तिक २९, २०७४
- ब्लाष्ट खबर
बेसीशहर, लमजुङ (रासस)/नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले कम्युनिष्टहरूले बहुमत ल्याएर सरकार बनाउने बताएका छन् ।
वाम गठबन्धनद्वारा बुधबार लमजुङको बेसीशहरमा आयोजित आमसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले चुनावपछि एकता गर्ने गरी वाम गठबन्धन बनाइएको बताए ।
उनले एमाले र नेकपा (माओवादी केन्द्र)ले एउटै चुनाव चिह्नमा चुनाव लड्ने समझदारी बने पनि प्राविधिक कारणले रोकिएको बताए ।
देशको विकासलाई नयाँ उचाइमा पु¥याउन वामपन्थी दलले जित्नुपर्ने उनको भनाइ थियो । “स्थायी सरकार र सुशासनका लागि वाम गठबन्धन भएको हो” – उनले भने ।
नेता ओलीले अनावश्यक विवाद र बहसमा अल्झिन नहुने भन्दै जनता अलमल्याउन खोज्नेहरूलाई पराजित गर्दै संगठित हुन आग्रहसमेत गरे ।
मुलुकलाई अगाडि बढाउन सक्ने संकल्प वामपन्थीमा मात्र भएको उनको भनाइ थियो । अस्थिर सरकारले मुलुकको विकास हुन नसकेको स्वीकार्दै उनले अब वामपन्थीको बहुमतको सरकार बन्ने र मुलुक विकासतर्फ अघि बढ्ने पनि बताए ।
कार्यक्रममा बोल्दै माओवादी केन्द्रबाट लमजुङमा प्रतिनिधिसभाका उम्मेदवार बन्नुभएको देव गुरुङले कम्युनिष्टले नेतृत्व गरे मुलुक विकास पथमा अगाडि बढ्ने बताए ।
लमजुङका प्रदेश (ख)का उम्मेदवार पृथ्वीसुब्बा गुरुङले कसैलाई प्रधानमन्त्री र कसैलाई मुख्यमन्त्री बनाउन वाम एकता नभएको बताए ।