शनिश्चरे/वाम गठबन्धनका उम्मेदवारलाई बहुमतका साथ जिताउने भन्दै मोरङ निर्वाचन क्षेत्र नम्बर ३ मा बुधबारदेखि उम्मेदवार सहितको घरदैलो अभियान सुरु भएको छ ।
क्षेत्रको निर्वाचन उपक्षेत्र ‘ख’ स्थित बेलबारी ११ लक्ष्मीमार्गबाट घरदैलो अभियान सुरु भएको हो । घरदैलो अभियानको उद्घाटन्का क्रममा एमाले पोलिटव्यूरो सदस्य एवम् प्रतिनिधिसभा-३ नम्बर क्षेत्रका उम्मेदवार भानुभक्त ढकालले निर्वाचनको मुखमा वाम गठबन्धनका नेताहरुमाथि आक्रमण हुनु सरकारको नालायकीपन भएको बताए ।
निर्वाचनमा सरकारले सुरक्षा प्रदान गर्नुपर्नेमा वाम गठवन्धनका नेताहरमाथि आक्रमण हुनु निर्वाचन विथोल्ने षडयन्त्रमा कांग्रेस लागेको उनले आरोप लगाए । उनले भने ‘ वाम गठवन्धनको विजय हुने भो भनेर विभिन्न षडयन्त्र गर्नुको साटो निर्वाचनका लागि सरकारले सुरक्षा व्यवस्था मजबुत पार्नुपर्छ ।’
अभियान अन्तर्गत, बेलबारी ९ डाँगीहाट बजारमा भएको वाम गठवन्धनको संयुक्त सभामा ००७ सालदेखि नेपाली कांग्रेसमा आवद्ध होहिदास चौधरी सहित पार्टी परित्याग गरी वाम गठवन्धनमा प्रवेश गरेका छन् । नवप्रवेशी चौधरीका साथै होनिया खवास, कमला राजवंशी, कृष्ण खवास, मोहन खवास, सिते खवास, शिवलाल खवास, मोइन खवास, छुनिया खवासलाई उम्मेदवार ढकालले अविर माला लगाइ प्रवेश गराएका छन् ।
कार्यक्रममा, प्रवेश ‘ख’ का उम्मेदवार राजकुमार ओझा सहितका सयौं नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।