भद्रपुर । नेपाली काँग्रेसका केन्द्रीय सदस्य विश्वप्रकाश शर्माले लोकतान्त्रिक व्यवस्थालाई जीवन्त राख्न नेपाली राजनीतिमा आमूल परिवर्तन गर्नु पर्ने बताएका छन् । नेपाल तरुण दल भद्रपुर ९ र १० को आयोजनामा चन्द्रगढीमा सम्पन्न शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै नेता शर्माले नेपाली जनस्तरमा रहेको निरासा हटाउँन परम्परागत शैलीको नेपाली राजनीतिलाई आमूल परिवर्तन गर्नु पर्ने बताएका हुन् । सम्बृद्ध राज्यका रुपमा नेपाललाई विकास गर्न नेपाली काँग्रेसले परिवर्तनका ५ मुद्धा, समाज बदल्ने ७ शुत्र र देश बनाउने १० प्रतिज्ञालाई स्वीकार गरेर जनताका घर दैलोमा पुग्ने भन्दै युवा नेता शर्माले तरुण नै नेपाली काँग्रेसको मुटु रहेको उल्लेख गरे । वाम गठबन्धन प्रति लक्षित गर्दै शर्माले मदन भण्डारकिो बहुदलीय जनवाद र प्रचण्डको हिंसात्मक माओवाद आन्दोलन बीच साच्चैको एकता भए नेपालको कम्युनिष्ठ राजनीतिले तयार गरेको गाली गर्ने कारखना बन्द हुँदा नेपाली समाज सकारात्मक बाटोमा लाग्ने तर्क गरे । उनले वाम एकताले काँग्रेसलाई तर्साएको नभएर अवसर प्रदान गरेको भन्दै शान्ति र सम्बृद्धिका लागि नेपाली काँग्रेसको विकल्प नभएको जनाए । उनले झापाको चन्द्रगढीसित जन्मेको ६ महिनादेखिको सम्बन्ध निरन्तर रहेको स्मरण गर्दै झापा क्षेत्र नम्बर १ मा संसदीय निर्वाचनका लागि चन्द्रगढीबासीले आफूलाई विजयी गराउन महत्वपूर्ण देन दिनेमा विश्वास व्यक्त गरे । शर्माले चन्द्रगढीको सम्बृद्धिका लागि दीर्घकालिन सोचका साथ लाग्ने प्रतिबद्धता गर्दै भौतिक विकास, राजनीतिक संस्कार निर्माण र नयाँ सभ्यता सहितको नेपाल निर्माणका लागि निरन्तर लागि पर्ने संकल्प प्रस्तुत गरे । परिवर्तन आफैंबाट हुनु पर्ने जनाउँदै शर्माले परम्परागत शैलीले नेपालको सम्बृद्धि संभव नरहेको स्पष्ट पारे । उनले काँग्रेस हुनलाई जिम्मेवार, शालिन र सवैलाई मिलाउन सक्ने सार्मथ्य आवश्यक रहेको जनाउँदै आलोचना र नकारात्मक सोच छोड्न सवैलाई आग्रह गरे । शर्माले व्यक्ति केही नभएको भन्दै हार जीत जे भए पनि काँग्रेसको हुने प्रष्ट पारे । गुट र फुट आजको आवश्यकता नरहेको संकेत गर्दै उनले अधिनायकवाद अन्त्य गरी शान्ति र सम्बृद्ध नेपाल बनाउन काँग्रेसलाई जिताउन आग्रह समेत गरे । नवीन केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा महासमिति सदस्य अशोक पोखरेल, तरुण दल झापाका पूर्व सचिव देवेन्द्र गौतम, तरुणल भद्रपुर सभापति मुरारी न्यौपाने, मेचीनगर सभापति विशाल तामाङ लगायतले मन्तव्य राख्दै लोकतन्त्रका लागि नेपाली काँग्रेसलाई रोज्नु पर्ने धारणा राखेका थिए ।