काठमाडौ । नेकपा माओवादी केन्द्रले मंगलबार सरकार छोड्ने भएको छ। माओवादीबाट सरकारमा सहभागी सबै मन्त्री र राज्यमन्त्रीहरुले सरकार छाड्ने तयारी गरेका छन्। प्रधानमन्त्री शेरबहादुर देउवाले जिम्मेवारीविहीन बनाइदिने तयारी गरेपछि माओवादी मन्त्रीहरु सरकार छाड्न लागेका हुन्। प्रधानमन्त्री देउवाले सोमबार माओवादी मन्त्रीहरुलाई सरकार नछाड्ने भए जिम्मेवारी विहीन बनाइदिने मौखिक जानकारी दिएको एक मन्त्रीका सहयोगीले जानकारी दिए। त्यसैले माओवादी मन्त्रीहरुले मंगलबार सरकार छाड्न लागेका हुन्। नेकपा माओवादी केन्द्रकी प्रवक्ता पंफा भुसालले नेपाली कांग्रेसले सरकार छोडिदिन प्रस्ताव गरेको बताइन्। तर सरकार छाडिहाल्ने विषयमा आधिकारिक निर्णय नभएको उनले बताइन्। ’सरकार छोडिदिन प्रस्ताव आएको छ। यस विषयमा दुई पार्टीबीच छलफल भइरहेको छ, अहिले नै बाहिरिने भन्ने सूचना सत्य होइन’ उनले भनिन्।