काठमाडौँ । एमाले–माओवादीको वाम गठबन्धनले मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको चुनावी घोषणापत्र तयार पारेको छ ।गठबन्धन निर्माण कुनै पनि राजनीतिक शक्तिविरुद्ध परिलक्षित नभएको बताए पनि घोषणापत्रमा भने एमाले(माओवादीले सत्तारुढ कांग्रेसमाथि आरोपैआरोप लगाएका छन् । गठबन्धनले कांग्रेस नेतृत्वले अहिलेको संविधानको अन्तरवस्तु, मूलमर्म र भावनालाई आत्मसात् गर्न र सही ढंगले कार्यान्वयन गर्न नसक्ने भन्दै कांग्रेसमाथि चुनावी अभियानक्रममा आक्रामक रूपमा प्रस्तुत हुने तयारी गरेको छ । एमाले उपाध्यक्ष वामदेव गौतम, माओवादी वरिष्ठ नेता नारायणकाजी श्रेष्ठलगायत दुवै पार्टीका नेता सम्मिलित कार्यदलले घोषणापत्रलाई अन्तिम रूप दिएको हो । कार्यदलले तयार पारेको घोषणापत्र पार्टी एकता संयोजन समितिले एकपटक अध्ययन गरेपछि सार्वजनिक गरिने नेताले बताएका छन् । ‘चुनावी घोषणापत्र तयार पार्ने काम करिब सकेका छौं,’ कार्यदलमा रहेका माओवादी वरिष्ठ नेता श्रेष्ठले भने, ‘अब छिट्टै दुवै पार्टीका अध्यक्षसहित नेताले हेरेपछि सार्वजनिक गर्छौं ।’