काठमाडाैं/नेपाल ग्रामिण विकास बैंक (NGBBL) को एफपिओ असोज ३१ गते बाँडफाँड हुने भएको छ । कम्पनीको सेयर विक्री प्रबन्धक प्रभु क्यापिटलले एफपिओको पुर्व बाँडफाँड खाका नेपाल धितोपत्र बोर्डमा शुक्रबार पेश गरेको जनाएको छ । अब धितोपत्र बोर्डबाट बाँडफाँडको खाकालाई स्वीकृति प्रदान गरेपछि मंगलबार एफपिओ बाँडफाँड गर्ने तयारी गरेको क्यापिटलले जनाएको हो। धितोपत्र बोर्डले गत जेठदेखि लागू गरेको धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका २०७४ अनुसार नै एफपिओ बाँडफाँड हुनेछ । यस व्यवस्था अनुसार प्रत्येक आवेदकलाई १० कित्ता बाँडफाँड हुनेछ । एफपीओमा दुई लाख ५० हजार बढी आवेदकले दुई करोड ७५ लाख कित्ता बढी सेयर माग गरेका छन् । भाग्यशाली ९७ हजार ५०० जना आवेदकले गोलाप्रथाबाट मात्रै १० कित्ता प्राप्त गर्नेछन् भने बाँकी एक लाख ५२ हजार पाँच सय बढी आवेदकको हात भने रित्तो हुनेछ । ग्रामीण विकास बैंकले भदौ २७ गतेदेखि ३० गतेसम्म एक सय रुपैयाँ अंकित दरमा ९ लाख ७५ हजार कित्ता एफपिओ निष्काशन गरेको थियो । एफपिओमा ५० कित्तादेखि ४८७० कित्तासम्म आवेदन गर्न सकिने व्यवस्था रहेको थियो । लघुवित्त कम्पनीको विहीबार सेयरमूल्य ६६६ रुपैयाँ रहेको छ ।   मेराेलगानी