बाँके/ नेपालगन्जका साना–साना नानीहरु फर्सीको फूल बिक्री गरेर पकेट खर्च जुटाउने गरेका छन्।
तरकारी र पकौडाका लागि लोकप्रिय मानिएको फर्सीको फूल नेपालगन्जको विभिन्न ठाउँमा लगेर बिक्री गर्दै आएको नेपालगन्ज उपमहानगरपालिका–९, खटकनपुर्वाका सरोज खटिकले बताए। उनले एउटा फूललाई एक रुपैयाँमा बिक्री गर्दै आएको उनले बताए। घरमा रोपेको फर्र्सीको फूल टिपेर होटल र पसलमा लगेर बिक्री गरेको बताउँदै बिक्री गर्न समय नलाग्ने उनले बताए। ‘गाउँबाट निक्लिनासाथ बिक्री हुन्छ,’ उनले भने। फर्सीको फुल बिक्री गर्ने उनी एक्ला होइनन्। उनका साथमा ६/७ जना बालबालिका फूल लिएर बजार पुग्ने गरेका छन्। साथीभाइ मिलेर बिक्रीका लागि बजारसम्म पुग्छौं, सबैसँगै जाँदा बिक्री गर्न सजिलो हुन्छ,’ उनले भने। फर्सीको फूल बिक्री गरेको आफैं राख्ने गरेको सोही ठाउँकी सविना खटिकले बताइन्।
उनले उक्त रकम विद्यालय गएको बेला खाजा खाने र आफूले चाहेको लुगा किन्ने गरेको बताइन्। ‘कहिलेकाहीँ आमा बाबुलाई दिन्छौँ तर, धेरै रुपैयाँ आफ्नो पकेट खर्चका लागि आफैं राख्छौँ,’ उनले भनिन्। उनी र उनका साथीभाइले यस वर्ष मात्र नभई अघिल्ला वर्षमा पनि फर्सीको फूल बजारमा बिक्री गरेका थिए। बाबुआमाले टिपेर ठिक्क पारिदिएपछि बालबालिकाले बिक्रीका लागि बजार लैजाने गरेका छन्। ठूला मान्छेभन्दा सानाले बिक्री गर्न सजिलो हुने भएकोले आफूहरुले बजार लैजाने गरेको नेपालगन्ज उपमहानगरपालिका–९, खट्कनपुर्वाका १२ वर्षीय रामसागर खटिकले बताए।
‘हामीहरु डुल्दै, खेल्दै बिक्री गर्छौँ, ठूला मान्छे बिक्री गर्न झमेला मान्छन्,’ उनले भने।
थाहाखबर