काठमाडौँ । राजधानीमा दिनदहाडै गोली प्रहार गरी हत्या गरिएका निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको एक वर्षदेखि सुरक्षा ‘थ्रेट’ मा रहेको पाइएको छ ।
एक वर्षअघि महानगरीय प्रहरी अपराध महाशाखामा पुग्दा गौचन ठेक्कापट्टामा गुन्डागर्दीको प्रयोग हुनेबारे चिन्तित देखिन्थे । ठेक्कामा दलीय संरक्षणमा हुर्किएका गुन्डाले भाग (पैसा) मागेर हैरान गर्ने गरेको गुनासो गर्दै ठेक्कापट्टा गर्नेहरूबीच प्रभुत्व जमाउन खोज्नेले आफूलाई दुःख दिने गरेको गुनासो गरेका थिए ।
त्यतिबेलै प्रहरीले सहजै अनुमान लगाएको थियो, गौचन ठेक्कामा लाग्ने गुन्डा समूहबाट ‘थ्रेट’ मा थिए । उनी त्यसपछि प्रहरीमा अक्सर पुगेनन् । काठमाडौं जिल्ला अदालतको नयाँ भवन र राष्ट्रिय नाचघर गौचन संस्थापक रहेको डाँफे कन्स्ट्रक्सनले निर्माण गरेको थियो । करोडौं कारोबार गर्दै आएका गौचनसँग ठेक्कापट्टाकै एउटा समूहले ठूलै आर्थिक ‘डिल’ गरेको र नदिएपछि हत्या गरेको आशंका प्रहरीको छ ।
व्यस्त सडकमा दिनदहाडै गोली प्रहार गरी हत्या गरिएका गौचनको पारिवारिक पृष्ठभूमि केलाउन प्रहरीले सुरु गरेको छ । गौचनको योजनाबद्ध ढंगले हत्या गरिएको दाबीसहित प्रहरीले उनले प्रयोग गर्ने फोनको कलडिटेलमाथि समेत अनुसन्धान गर्ने भएको छ । ‘गौचन सवार गाडी, अगाडिको सिटमै बसेको जानकारी लिन आपराधिक समूहले गौचनको लामो समयदेखि रेकी गरेर योजनाबद्ध ढंगले गोली प्रहार गरेको देखिन्छ,’ अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतले भने, ‘पारिवारिक स्रोतले जानकारी दिएअनुसार गौचन केही दिनदेखि तनावमा देखिन्थे ।’
महानगरीय प्रहरी परिसर टेकुका प्रमुख एसएसपी रवीन्द्र धानुकका अनुसार ‘सार्पसुटर’ प्रयोग गरेर गौचनको हत्या गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । प्रहरी उच्च स्रोतका अनुसार एमाले भ्रातृसंगठन युवा संघ रुपन्देही अध्यक्ष
दुर्गा तिवारीको हत्यामा संलग्न रुपन्देही देवदहकै मनोज पुन समूहको संलग्नताबारे प्रहरी अनुसन्धान तीव्र बनेको छ ।
एक उच्च प्रहरी अधिकृतले भने, ‘केही दिनदेखि पुनकै समूहले गौचनलाई धम्क्याएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ, प्रहरी अनुसन्धान त्यतै मोडिएको छ ।’ पुन अहिले भारतमा छन् । नेपाल प्रहरीको टोली दुई पटक भारत पुग्दा पनि उनलाई पक्राउ गर्न नसकेपछि फिर्ता भएको थियो । भारतमा बसेर नेपालमा रहेका ठूला व्यापारीसँग पुनले चन्दा असुली गर्दै आएका छन् । गौचनको सोमबार दिउँसो करिब तीन बजे शान्तिनगर, खरिबोट नजिकै हत्या भएको हो ।