भद्रपुर । भौतिक संरचना तथा असुरक्षाका कारण देखाउदै छोटी भन्सार बन्द भएपछि भन्सार नाका हुदै दैनिक लाखौं मुल्य बरावरको सामान तस्करी हुने गरेको छ । मेची भन्सार कार्यालय काकरभिट्टा मुल भन्सारको मातहातमा रहेको झापाको दक्षिणी क्षेत्र साविक केचना ३ हाल कचनकवल ४ केचना बजारमा रहेको केचना छोटी भन्सार विगत १० वर्ष देखि बन्द भएसगै भन्सारको बाटो हुदै तस्करी गतिविधीले निरन्तरता पाएको हो । भारतको कादोगाउ बजारवाट हाडवेयर,कपडा,मोटर पार्टस,इलेक्ट्रोनिक्स लगायतका सामान दैनिक विहानीपख २ देखि ३ बजेको समयमा केचना भन्सारको बाटो भएर ठाना चौक पश्चिम वगानवाट जलथलको जंगल हुदै विर्तामोड जाने गरेको छ । केहि महिना अघि दक्षिणी क्षेत्रवाट बसमा राखेर समान लैजादै गरेको अवस्थामा जिल्ला प्रहरीको टोलीले जलथलको जंगलवाट बरामद गरेपछि थप यस्को पुष्टि भएको छ । भारतवाट भित्र्याइको सामान साइकल तथा पिकअप भेनको सहायतावाट तस्करी हुने गरेको स्थानीयको भनाई छ । सामानसगै यो क्षेत्र भएर धारापानी नाका हुदै दैनिक पशु चौपाया समेत भारत तर्फ लैजाने गरेको स्थानीय एक व्यत्तिले दिएको जानकारीको अडियो सुरक्षीत रहेको छ । स्थानीय नौसाद र आफाक नाम गरेका व्यत्तिले सामान र कच्चु नामले परिचित खड्ग भन्ने व्यत्तिले गोरुको कारोवार गर्ने गरेको स्थानीयले बताए । कारोवारीले वर्षौदेखि स्थानीय प्रहरीलाइ मोटो रकम बुझाएर काम गरिरहेको स्रोतले बतायो । उनिहरुले घेरावारी,वनियानी र जलथलका प्रहरीलाइ समेत मिलाएपछि सामानको सुरक्षा प्रहरीलेनै गर्ने गरेको पाइएको छ । भन्सार बन्द भएपछि यो क्षेत्र तस्करीको सुरक्षीत नाका भएको स्थानीय बताउछन् । ‘भन्सार बसेमा चहलपहल समेत हुने थियो’ तर के गर्नु ‘तस्करीको पो चहलपहल भयो’ एक जानकारले बताए । सामान राती गएपनि हुलका हुल चौपाया दिउँसै भारत जाने गरेको उनले सुनाए । ‘सवै गतिविधी मलाइ थाहा छ, तर मेरो नाम आउनु भएन नि’ भन्दै उनले सवै गतिविधी सुनाए । यो नाकावाट ठुलो परिणाममा सुपारी तस्करी भएको समयमा एक वर्ष अघि केचनाको लोदावारी गाउमा प्रहरीको गोली समेत चलेको उनले सुनाए । तर हाल सुपारीको तस्करी बन्द भइ अन्य कारोवार चलिरहेको उनले बताए । यो क्षेत्रमा जिल्लाको प्रहरी आइनपुग्ने भएकोले स्थानीय प्रहरीसगनै ‘लाइन’मिलाउने गरेको वुझिएको छ । झापामा रहेका १२ ओटा छोटी भन्सार मध्ये ५ ओटा मात्र सञ्चालनमा आइरहेको मेची भन्सार कार्यालय काकरभिट्टाका प्रमुख भन्सार अधिकृत भीमप्रसाद अधिकारीले बताए । बाँकी भन्सार जनआन्दोलन, मधेश आन्दोलन,भौतिक संरचना,सुरक्षा लगायतका कारणले गर्दा बन्द भएको प्रमुख भन्सार अधिकृत अधिकारीको भनाइ छ । भद्रपुर छोटी भन्सार बाहेक अन्य छोटीमा एक पटकमा ५ हजारसम्मको सामानको भन्सार काटिने भएकोले समेत समस्या उत्पन्न भएको उनले बताए । बन्द भएका केहि भन्सारमा बाढीले समेत क्षति पुर्याएकोले यसको पुनः सञ्चालनका लागि भन्सार विभागले सोच बनाइ राखेको उनले जनाए । सेवाग्राही आएमा भन्सार सेवा दिन तयार रहेको उनले बताए । तस्करसंग मिलेर कुनै गैरक्रियाकलाप गरेको प्रमाण फेला परेमा प्रहरीको कानुन अनुसार कारवाही गरिने जिल्ला प्रहरी कार्यालय झापाका एसपी विष्णु कुमार केसीले बताए । आफुलाइ कुनै जानकारी नआएकोले तत्काल यस विषयमा अनुसन्धान सुरु गरिने एसपी केसीले आश्वासन दिए ।