धरान/प्रदेश १ को १४ जिल्लामा आइतबारदेखि हर्न निषेधित क्षेत्र घोषणा गरिएको छ ।

स्थानीय प्रशासनको निर्णयानुसार पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयले हर्न निषेधित क्षेत्र घोषणा गरेको हो । प्रदेश १ को ताप्लेजुङ, पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, तेह्रथुम, धनकुटा, भोजपुर, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा र उदयपुरमा हर्न बजाउन नपाइने नियम लागू गरेको पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ ।
क्षेत्रीय ट्राफिकले मातहतका जिल्लाहरुलाई हर्न निषेधित गर्नको लागि निर्देशन दिइसकेको छ भने त्यसका लागि हर्न निषेधित लेखिएको वोर्डसमेत राखेको छ । यातायात व्यवस्था विभाग, सडक विभाग, जिल्ला ट्राफिक प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालयको संयुक्त निर्णयमा हर्न निषेधित क्षेत्र बनाउने यसअघि निर्णय भएको थियो ।
विशेष अवस्था बाहेक अवस्थामा हर्न बजाउन निषेध गरेको छ । नियम पालना नगरे पहिलोपटक ५ सय, त्यसपछि क्रमशः एक हजार र पन्ध्रसय रुपैया जरिवाना गर्न सक्ने सुनसरी जिल्ला ट्राफिकका प्रमुख इन्द्रप्रसाद सुवेदीले बताए ।