इटहरी/ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रदेश नम्वर १ को राजधानी इटहरीनै उपयुक्त हुने बताएका छन् । इटहरी उपमहानगरपालिकाको प्रथम नगर परिषद्लाई शनिबार इटहरीमा सम्वोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले भने ‘धरान साँघुरो छ, विराटनगर भद्रगोल भइसक्यो, अव इटहरीमा राजधानी बनाउन सकिन्छ ।

’इटहरीवासीले पनि प्रदेश नम्वर १ को राजधानी माग गरिरहेका बेला यहाँका जनप्रतिनिधीहरुले राजधानी सहितको पूर्वाधारको गुरु योजना बनाउन जरुरी भएको उनले बताए ।

राजधानी बनाउने मात्रै भनेर नहुँने भन्दै उनले जनप्रतिनिधीलाई शिक्षा, स्वास्थ्य, सडक, यातायातलगायतका पूर्वाधार कहाँ कसरी बनाउने हो, त्यसको गुरु योजना बनाउन जरुरी रहेको बताए ।

गुरु योजना बनाउने दायित्व यहाँका जनप्रतिनिधीको भएको भन्दै विकासमा राजनीति नगरी योजना बनाउन र विकास निर्माणमा लाग्न उनले सुझाव दिए । ‘इटहरीबाट नजिकै बराहक्षेत्र धाम छ, यही आसपासमा बोर्टीङ, ¥याफ्टीङ गर्ने ठाउँछन्, भुगोलले पनि साथ दिएको छ’ ओलीले थपे ‘त्यो सँगै इटहरी सडक यातायातको हिसाव र व्यापारिक केन्द्रको रुपमा रहेकोले पनि इटहरीको सम्भावना छ ।’

इटहरीले रोजगारको लागि पनि योजना बनाउनु पर्नेमा उनको जोड थियो ।मुलुक संघीय संरचनामा गइसकेको बताउँदै उनले त्यसको लागि स्थानीय सरकारले यहाँको विकास पहिचान गरी विकास निर्माणमा लाग्न जनप्रतिनिधीलाई आग्रह गरे ।

सयुक्त राष्ट्र संघमा दिगो विकासको लागि नेपालले लक्ष्य प्राप्ती गर्ने भनेर गरेको समय अवको १३ वर्ष मात्रै बाँकी रहेको स्मरण गराउँदै अध्यक्ष ओलीले त्यो लक्ष्य पुरा गर्न रोजगार र विकासमा इटहरीको पनि दायित्व भएको बताए । विकास गर्नका लागि बजेटको अभाव नभएको र कृषीमा आधारिक रोजगारी र विकासका योजना अहिलेको प्राथमिकतामा पर्ने उनको भनाई थियो ।

तमोर खोलाबाट मात्रै ७ सय ६२ मेगावट विद्युत निकाल्न सकिने सम्भावनालाई पनि ध्यान दिएर अघि बढ्न सके मुलुकमा ठूलै आर्थिक क्रान्ति हुने उनले बताए । ‘कोशी उच्च बाँधको पनि कुरा छ, त्यो भन्दा कम जोखिममा तमोरबाट राम्रै विद्युत उत्पादन गर्न सकिने भएकाले त्यसको सम्भावनालाई ध्यान दिन जरुरी रहेको उनको भनाइ थियो ।

जनप्रतिनिधीलाई लक्षित गर्दै उनले विकासमा बाधा पुग्ने राजनीति नगर्न दोहो¥याएर सुझाव दिए । जनतालाई सुविधा दिन जनप्रतिनिधी लाग्नु पर्ने एमाले अध्यक्ष ओलीको भनाई थियो ।राष्ट्रिय राजनीतीको कुरा गर्दै सम्वोधनकै क्रममा एमाले अध्यक्ष ओलीले संविधान संसोधन हुन सक्ने विषय भएको भन्दै आवश्यक्ता अनुसार संविधान संसोधन हुने बताए ।

‘हामीलाई मुल संविधान ल्याउन चुनौति थियो, त्यो ल्यायौं, अव जनताको माग अुनसार संसोधन हुन सक्छ यो ठूलो विषय होइन ।’ पछिल्लो समय संविधान संसोधनको विपक्षमा उभिएका ओलीले सम्वोधनकै क्रममा भने ।कार्यक्रममा इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले आर्थिक वर्ष २०७४÷०७५ को लागि प्रथम नगर परिषद्बाट बजेट तथा कार्यक्रम आउने बताए । यहाँको विकास निर्माण, सामाजिक संरचना अनुसारनै चालू आर्थिक वर्षको बजेट आउने बताए ।

शनिबार परिषद् उद्घाटन गरिएकोले इटहरीको बजेट भने आइ सकेको छैन । श्रोतका अनुसार एक अर्व रुपैयाँ हाराहारीमा इटहरीको बजेट आउने तयारी भएको छ । कार्यक्रममा उपमेयर लक्ष्मी गौतमले स्वागत मन्तव्य राख्दै इटहरीको विकासमा सबैको सहभागिता हुने गरी काम गरिने बताइन् ।

कार्यक्रममा तत्कालिन इटहरीका प्रथम मेयर सर्वध्वज साँवा र उम मेयर हालका साँसद रेवतीरमण भण्डारीलाई दोसल्ला ओडाएर सम्मान गरिएको थियो । इटहरीमा केही समय अघि आएको बाढीले क्षति पु¥याएका परिवारलाई राहत सहयोग गर्ने संघ संस्थालाई सो अवसरमा कदर पत्र प्रदान गरिएको थियो । प्रमुख अतिथि ओलीले गमलाको फूलमा पानी हालेर कार्यक्रमको उद्घाटन गरेका थिए ।