भद्रपुर । झापाको गौरीगञ्ज गाँउपालिका क्षेत्रबाट भन्सार छलेर नेपाल भित्राइएको १ सय ७६ किलो सुर्ती प्रहरीले बरामद गरेको छ । सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालयबाट खटिएको प्रहरी टोलीले सुर्ती बरामद गरेको हो । गौरीगञ्ज बजारबाट यात्रुबाहक बसमा हालेर दमकतर्फ लगिरहेको बिशेष सूचनाको आधारमा सशस्त्र प्रहरीले सवारीसाधन चेकजाच गर्दा ८ बोरा सुर्ती फेला पारेको थियो । जसको बजार मुल्य ५२ हजार ८ सय रहेको सीमा सुरक्षा कार्यालय झापाले जनाएको छ । प्रहरीका अनुसार कुञ्जीबारी नाकाबाट स्थानीय कारोबारी विनोद साहले अवैध रुपमा सुर्तीको तस्करी गर्दै आइरहेको सूचना प्राप्त भएपछि सशस्त्र प्रहरीले निगरानी बढाएको जनाएको छ । भारतको विहार राज्य सीमासंग जोडिएको गौरीगञ्जबाट पछिल्लो समयमा सुर्ती लगायतका अवैध कारोबार फस्टाउन थालेपछि सीमा सुरक्षा कार्यालयले सादा पोशाकमा प्रहरी खटाउन थालेको छ । सो क्षेत्रमा सशस्त्र प्रहरीको वेस क्याप रहेपनि तस्करी हुदै आएको छ ।