शनिश्चरे/दुवै मृगौलाले काम नगरेपछि उपचारमा आर्थिक समस्यामा परेका मोरङको पथरीशनिश्चरे १ का ४७ वर्षीय प्रकाश थापाको मृगौला प्रत्यारोपणका लागि देश विदेशबाट आर्थिक सहयोग संकलनको क्रम बढेको छ ।
पथरीशनिश्चरे १ बाट थालिएको अभियानमा ‘प्रकाश थापा बचाऔंं अभियान समिति’ का साथै स्थानीय समाजसेवी भीमकुमार राई, यमुना विष्ट, सुरेश कार्की र दीपक बस्नेतको अगुवाईको पहलबाट ५७ जनाबाट ५८ हजार ३ सय ८५ रुपैयाँ संकलन गरी थापाका छोरा अभिषेकलाई हस्तान्तरण भएको छ । जसमा समाजसेवी तुलसीराम ढकालले ५ हजार, धनप्रसाद सावाँले २ हजार सहितका सहयोग प्राप्त भएका छन् । सेवा निवृत्त राष्ट्र सेवक हकहित समाज पथरीशनिश्चरे नगर कमिटीमार्फत ६४ जनाबाट संकलित ३१ हजार ८ सय ७१ रुपैयाँ थापाकी श्रीमती अनितालाई हस्तान्तरण भएको छ । सोही वडाको आरती वहुउद्धेश्यीय सहकारीको वार्षीय साधारणसभामा भेला भएका शेयर सदस्यबाट १७ हजार ५ सय रुपैयाँ संकलन भएको थियो । अमेरिकामा रहेका पथरीशनिश्चरे ४ का भूपेश संग्रौलाले १० हजार, स्थानीय कन्तुर सहकारीले ९ हजार र शिखरचोकबाट ९ हजार सहयोग प्राप्त भएको थापाका छोरा अभिषेकले जनाए । उनले यो बेला मृगौला प्रत्यारोपणमा १५ लाख बढी रुपैयाँ खर्च हुने सुनाए ।
आर्थिक कठिनाइमा रहेका थापाको उपचारमा सहयोग जुटाउन स्थानीय युवाहरुले कम्प्युटर जोनका प्रमुख युवा व्यवसायी मनोज श्रेष्ठको संयोजकत्वमा ‘प्रकाश थापा बचाऔंं अभियान समिति’ गठन गरेर सहयोग सकलन अभियान अघि बढाएका छन् ।
विपन्न परिवारका समाजसेवी थापाको ०७३ फागुनबाट दुवै मृगौलाले काम नगरेपछि काठमाडौंको वीर अस्पतालमा डाइलोसिस भइरहेको छ् । राष्ट्यि वाणिज्य वैंक पथरी शाखाको सुरक्षा कर्मचारीका रुपमा कार्यरत उहाँ गत फागुनदेखि विरामी परेर आफ्नो जागिर समेत छोडिएको अवस्था छ ।
०७४ वैशाखदेखि परिवारै सहित काठमाडौंमा बसेर उपचार गराइरहेका छन् । निशुल्क डाइलोसिस भइरहेपनि साताको २ पटक डाइलोसिस गराउँदा रगत लगाउन, औषधि सेवन गर्न र खाना वस्न गरी मासिक ३० हजार रुपैयाँ खर्च हुने गरेको छ । आफ्नो उपचारमा हालसम्म ५ लाख वढी खर्च भइसकेको थापाले बताएका छन् ।
ऋणपान गरेर उपचार भइरहेको अवस्थामा मृगौला प्रत्यारोपणका लागि अझ समस्या भइरहेको छ । यसखाले अप्ठेरो परिस्थिती बुझेपछि नगरका युवाहरुले थापालाई वचाउने अभियानका लागि समिति गठन गरेर सहयोगका लागि सवैलाई आव्हान गरिएको संयोजक श्रेष्ठले जनाए । मृगौला प्रत्यारोपण गरेर पुरा आयु जीवन वाँच्ने थापाको अभिलासालाई साकार पार्न सहयोगी हातहरुको अत्यन्तै आवश्यकता परेकाले उनको पुकारलाई मनन् गर्दै देश र विदेशमा रहनेले सक्दो सहयोग पुर्याइदिन समितिले फेसवुक पेजमार्फत समेत अपील गरेको छ । जसका लागि उनकी श्रीमती अनिता थापाको नाममा राष्ट्रिय वाणिज्य बैंक ,पथरी शाखाको खाता नम्बर २५६०००२१६५१० मा समेत सहयोग गर्न समितिले आव्हान गरेको छ । नगरका समाजसेवी भीमकुमार राईको पहलमा समेत सहयोग संकलन कार्य भइरहेको छ ।