बिर्तामोड । व्यवसायीहरुका कर सम्बन्धी समस्यालाई समाधान गर्न आन्तरिक राजश्व कार्यालय र उद्योग वाणिज्य संघबीच समन्वय गरेर अघि बढ्नुपर्नेमा जोड दिइएको छ । बिर्तामोड उद्योग वाणिज्य संघको आयोजनामा सोमवार बिर्तामोडमा आन्तरिक राजश्व कार्यालय भद्रपुरका प्रमुख कर अधिकृत निर्मल ढकाल र कर अधिकृत छवि भट्टराईसँग भएको अन्तरक्रियामा उक्त कुरा बताइएको हो । बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराईको अध्यक्षतामा भएको अन्तरक्रियामा प्रमुख कर अधिकृत ढकालले व्यवसायीबीच कर शिक्षालाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिए । उनले थोरै कर लुकाउँदा धेरै क्षति व्यहोर्नु पर्ने अवस्थामा व्यवसायीहरु रहेको बताउँदै करको प्रक्रियामा आउन अनुरोध गर्दै पछि जानीन भन्न नहुने धारणा राखेका थिए । कर अधिकृत भट्टराईले व्यवसायी र कर कार्यालयबीच नङ्ग र मासुको सम्बन्ध हुनुपर्नेमा जोड दिए । उद्योग वाणिज्य संघका अध्यक्ष भट्टराईले व्यवसायीलाई करको दायरामा ल्याउन संघले समन्वय गर्ने र व्यवसायीलाई सम्मानपूर्वक कर तिर्ने वातावरण सृजना गर्न आग्रह गरे । अध्यक्ष भट्टराईले कर सम्बन्धी कुनै पनि समस्याको सहजीकरण गर्न संघ तयार रहेको बताए । महासचिव भेषराज भण्डारी (प्रशान्त)ले सञ्चालन गरेको अन्तरक्रियामा संघका पदाधिकारी तथा सदस्यहरुले आन्तरिक राजश्व कार्यालयसँग विभिन्न गुनासो, जिज्ञासा र सुझाव राखेका थिए । संघका पूर्व अध्यक्ष राजेन्द्रकुमार थापा, बरिष्ठ उपाध्यक्ष प्रकाश शिवाकोटी, उद्योग उपाध्यक्ष राजु न्यौपाने, जनसम्पर्क उपाध्यक्ष पार्वता खरेल विमली, उद्योग सचिव रविन्द्र भट्टराई, वाणिज्य सचिव प्रकाश घिमिरे, कोषाध्यक्ष मनोज अग्रवाल, सदस्यहरु खगेन्द्र खरेल, गौरीशंकर गुप्ता, सञ्जीव घिमिरे, राजु सापकोटा, राधिका चुडाल हुमागाँईले जिज्ञासा तथा सुझाव राखेको कार्यालय सचिव राजु गौतमले जानकारी दिए ।