पाँचथर/फिदिम नपा–२, साम्दिन स्थित खहरे खोलामा आइतबार साँझ मुसलधारे बर्षा सँगै आएको बाढीले किसानको कैयौं रोपनी खेतीयोग्य जमिन बगरमा परिणत भएको छ ।

मुसलधारे बर्षा सँगै खोलामा उर्लिएर आएको बाढीले किसानले लगाएको अलैंची, अम्लिसो, धान र बोटबिरुवा सखाप भएको छ । बाढीले स्थानीय नरहरी ढुंगाना, चन्द्र ढुंगाना, नन्दबहादुर ढुंगाना, धनपति अधिकारी, हरिमाया अधिकारीको टिप्ने बेला भएको अलैंचि माटोमा मिलेको पीडितले बताए ।

त्यस्तै कृष्णराज पौडेल, गोविन्द अधिकारी, वृहस्पति अधिकारी, गणेश तुम्वापो, चन्द्र तुम्वापो, युवराज अधिकारी लगायतको पनि अलैंची, अम्लिसो, बाँसघारी र अन्य बोटबिरुवा सहित धानखेत समेत बगाएको स्थानीय देविप्रसाद दुलालले बताए । बाढीले स्थानीय नन्दबहादुर ढुंगानाले दश रोपनिमा लगाएको दुई हजार कोपिका बिरुवा पनि बगाएको छ । बाढीले मेची राजमार्गको साम्दिनदेखि घुर्विसे पञ्चमी जोड्ने मायालुमोड सडकमा समेत क्षति पुर्याएको छ ।

बाढीले स्थानीयले प्रयोग गर्दै आएको दर्जन जति खानेपानीको मूल समेत पुरेको छ । मूल पुरिंदा सो क्षेत्रमा खानेपानीको समस्या उत्पन्न भएको स्थानीय तेज बहादुर तुम्बापोले बताए । अपत्यारिलो रुपले उर्लेर आएको बाढीले सो क्षेत्रमा करोड बढीको क्षति पुर्याएको हो । खहरे खोलामा त्यत्रो बाढी आएको आफूले जीवनमै पहिलोपल्ट देखेको स्थानीय ९० वर्षिय दधिराम अधिकारीले बताए ।