इटहरी/ नेपाल पत्रकार महासंघ सुनसरीले इटहरीका सञ्चार गृह र सञ्चारककर्मीको व्यवसायिक सुरक्षाको लागि आवश्यक सहयोग गर्न अपिल गरेको छ ।
नगर परिषद्को पूर्व सन्ध्यामा सोमबार महासंघ सुनसरी अध्यक्ष अमर खड्का सहितको पत्रकारको टोली इटहरी उपमहानगरपालिकाका प्रमुख द्वारिकलाल चौधरीलाई सो ध्यानाकर्षण पत्र बुझाएको हो । १७ बुँदे ध्यानाकर्षण पत्रमा लोकतन्त्र, मानवअधिकार र प्रेस स्वतन्त्रता सम्वन्धी उपमहानगरपालिकाले जिम्वेवारीपूर्वक प्रस्तुत हुन आग्रह गरिएको छ ।
यसैगरी इटहरी क्षेत्रबाट प्रकाशित प्रसारित सञ्चार क्षेत्रको विकास र विस्तारमा इटहरी उपमहानगरपालिकाबाट दिइने सेवा सुविधा वृद्धी गर्न र पत्रकारको क्षमता अभिवृद्धीको लागि वार्षिक रुपमा दिइने बजेट व्यवस्था गर्न, समानुपातिक विज्ञान प्रदान गर्न र ३० वर्ष पत्रकारिता गरी ५८ वर्ष उमेर पुगेका पत्रकारकोलागि पेन्सनको व्यवस्था गर्न महासंघले माग गरेको छ ।
यसै गरी खोजमुलक समाचारको लागि फेलोसिप व्यवस्था गर्न र प्रत्येक वर्ष प्रदान गरिने पत्रकारिता पुरस्कारको राशी वृद्धी गर्न महासंघले माग गरेको छ । इटहरी क्षेत्रबाट पत्रकारिता गर्ने दुई जना पत्रकारलाई आम सञ्चार विषयमा स्नातकोत्तर अध्ययन र छात्रवृत्ती रकमको व्यवस्था गर्न र इटहरीबाट सञ्चालित अनलाईन, छापा, र प्रसारण माध्यममा कार्यरत सञ्चार मिडा डाइरेक्ट्री बनाउन महासंघलाई आवश्यक सहयोग गर्न माग गरिएको छ ।
महासंघलाई भवन निर्माण र स्थानको लागि जग्गा खोजीमा सहयोग गर्न र उपमहानगरपालिकाबाट प्रदान गरिने सेवा सुविधा र भए गरेका कामको बारेका सूचना डेक्स मार्फत सूचना प्रदान गर्न पनि माग गरिएको छ । साथै नव सञ्चार माध्यम अनलाईनलाई उपमहानगरपालिकामा सूचिकृत गरिी अन्य सञ्चार माध्यम सरह विज्ञापन उपलब्ध गराउन पनि महासंघ सुनसरीले माग गरेको छ । ज्ञापन पत्र बुझ्दै इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले आएका मागहरु परिषद्मा राखेर छलफल गरी सम्भव भएसम्म पुरा गर्ने प्रतिवद्धता जनाए ।