विर्तामोड । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले विदेशीको प्रभाव र प्रलोभनमा परेर पशुपति शम्सेर राणा मोहरा मात्रै बने पनि त्यसलाई कार्यकर्ताले कहिल्यै माफी नगर्ने बताए ।
निर्वाचनको पूर्वसन्ध्यामा पार्टी विभाजन गरेर राणाले कार्यकर्ताप्रति जघन्य अपराध गरेको आरोप लगाएका छन् । झापाको विर्तामोडमा मंगलवार आयोजित आफूनिकटका जनप्रतिनिधिको पूर्वाञ्चलस्तरीय भेलालाई सम्वोधन गर्दै अध्यक्ष थापाले यस्तो बताएका हुन् ।
पार्टी विभाजनको जुन प्रयास भया यो पार्टीले अघि सारेका एजेण्डा र आम कार्यकर्तामाथिको विश्वासघात भएको उल्लेख गरे । अध्यक्ष थापाले भने, ‘पशुपतिले पार्टी विभाजनको मोहरा बनेर जसरी जघन्य अपराध गरे, यसलाई जनताले कहिल्यै माफी गर्ने छैनन् ।’
पार्टीलाई संकटको घडीबाट मुक्त बनाएर एउटा अग्रणी शक्तिका रुपमा स्थापित गराउने दायित्व आफ्नो काँधमा आएको भन्दै अध्यक्ष थापाले आफूहरुका एजेण्डालाई कसैले खोस्न नसक्ने बताए । भ्रष्टाचारलाई सरकारले संस्थागतरुपमा बढावा दिएको दावी गर्दै आयल निगमको जग्गा खरिद प्रकरणमा अर्वाै घोटाला भएको सार्वजनिक भइरहँदा पनि बोल्न नसक्नु विडम्वना भएको टिप्पणी गरे । उनले अख्तियारको भूमिका पनि प्रभावकारी हुन नसकेको बताए ।
बढ्दो विदेशी प्रभाव र हस्तक्षेपका कारण मुलुक झन् संकटमा पर्दै गएको भन्दै राप्रपा नेता थापाले भारत भ्रमणका क्रममा संविधान संशोधनको विषयलाई लिएर प्रधानमन्त्रीले दिएको अभिव्यक्ति लाजमर्दाे भएको दोहोर्याए ।
महामन्त्री राजेन्द्र लिङदेनले पद, पैसा र प्रलोभनका भरमा पार्टी विभाजन गरेर आफ्नो स्वार्थ सिद्ध गर्नेहरुलाई जनतालाई कहिल्यै माफी नगर्ने बताए ।
विदेशी शक्तिको प्रभावमा राष्ट्रियतालाई कमजोर बनाउने षड्यन्त्र स्वरुप पार्टी विभाजन गरिएको भन्दै महामन्त्री लिङदेनले आक्रोस व्यक्त गरे । उनले नेपालमा प्रजातन्त्रवादी शक्तिको उदय रोक्न चौतर्फी प्रयास भइरहेको भन्दै त्यसप्रति सचेत रहन कार्यकर्तालाई आग्रह गरेका थिए ।