काठमाण्डौं । एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी)ले काठमाडौंकेन्द्रित ३ दिने सडक संघर्षको कार्यक्रम घोषणा गरेको छ । हिन्दु राष्ट्र कायम गर्न सरकारलाई दबाब दिने उद्देश्यले सडक आन्दोलन गर्ने निर्णय गरेको हो ।
पार्टी अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले सबै धर्मको सम्मान गर्दै मुलुकमा हिन्दु राष्ट्र कायम गरिछाड्ने पार्टीको मूल एजेन्डा स्थापित गराउने गरी सरकारलाई दबाब दिन बुधबार, बिहीबार र शुक्रबार काठमाडौंमा सडक आन्दोलन गर्ने निर्णय गरेको जानकारी दिए । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी उनले सडक संघर्षको क्रममा राष्ट्रिय एकताको प्रतिकको रुपमा राजसंस्थाको पुर्नस्थापना, भ्रष्टाचारको अन्त्य, युवा रोजगारीको अवसर सृजना गर्ने बाटोको खोजीका लागि सरकारलाई सडकबाटै दबाब दिने पनि स्पष्ट पारे । एकीकृत राप्रपा राष्ट्रवादीले मुलुकलाई राजनीतिक स्थायित्व दिन समानुपातिक व्यवस्था हुन नहुने मतसमेत राख्दै आएको छ ।
सडक संघर्षका कार्यक्रमअन्तर्गत बुधबार काठमाडौंको विभिन्न स्थानमा कोणसभा आयोजना गरिने राप्रपा राष्ट्रवादीले जनाएको छ । बिहीबार मोटरसाइकल र्याली र शुक्रबार बबरमहलअगाडि जम्मा भई संसद भवनअगाडिसम्म जुुलुस र आमसभा आयोजना हुने जनाइएको छ । अध्यक्ष लोहनीले राष्ट्रियता, प्रजातन्त्र र नेपाली मात्रको स्वाभिमानप्रति चिन्तित सबैले पार्टीको सडक संघर्षका कार्यक्रममा साथ दिने विश्वास व्यक्त गरेका छन् ।
































